मानव बेचबिखन अनुसन्धान ब्यूरो

Article Index

परिचय:-

मानव बेचबिखन तथा ओसारपसार मानवता विरुद्दको जघन्य अपराध हो । शुरुमा मानव बेचविखन दास (Slavery) र बंधुवा श्रमिक (Bonded Labor) वा यौन दासीको रुपमा मात्र सिमित थियो भने हाल यो अपराध विश्वभर आधुनिक दासता (Modern Slavery) को रुपमा फैलिएको छ । अबैध लागु औषध (Illegal Drugs) र हात हतियार (Illegal Weapons) कारोवार पछि विश्वमा तेस्रो ठुलो संगठित अपराधको रुपमा मानव बेचविखन तथा ओसारपसार देखिएको छ । महिला तथा बालबालिका र बयस्क पुरुष समेत यो अपराधबाट अत्याधिक रुपमा पिडित भएका छन् । कमारा कमारी, बधुँवा तथा दास प्रथा हुँदै आजको युगमा आधुनिक दासता “Modern Slavery“ को रुपमा मानव बेचबिखन तथा ओसारपसारलाई लिन सकिन्छ । नेपालबाट विशेष गरि भारत, खाडी मुलुक, अफ्रिकन देशहरू, युरोपियन तथा अमेरिकन देशहरूमा विभिन्न स्वरुप तथा प्रकृतिमा मानव बेचबिखन तथा ओसारपसारका काम भईरहेका छन । मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी अपराध नियन्त्रण गर्न एउटा बिशिष्टिकृत एंव साधनस्रोत सम्पन्न ईकाईको आवश्यकता महसुस गरेर यस सम्बन्धि अपराध अनुसन्धानलाई प्रभावकारी र परिणाममुखी बनाउन नेपाल प्रहरी कार्य तथा अपराध अनुसन्धान विभागको प्रत्यक्ष मातहतमा रहने गरि मानव बेचबिखन अनुसन्धान ब्युरोको गठन गरिएको हो ।

स्थापना:-

मिति २०७५ साल जेष्ठ २७ गतेको नेपाल सरकार (मन्त्री परिषद) निर्णयानुसार मानव वेचबिखन अनुसन्धान ब्यूरोको स्थापना गरिएको हो । ब्यरोले मिति २०७६ साल बैषाख २९ गतेबाट कानुन किताब व्यवस्था समितिको भवनमा कार्यालय स्थापना गरि कार्यारम्भ गरेको छ । ब्यरोको कामलाई विशिष्टिकृत गर्दै मिति २०७६ भदौ ४ गतेको नेपाल सरकार (मन्त्री परिषद्) निर्णय भई प्रहरी नियमावली २०७१ मा सातौ संशोधन गरेर यस ब्योरोको लागि कार्यादेश प्राप्त भएको हो भने मिति २०७६ असोज १३ गतेको प्रहरी नियमावली २०७१ मा सातौ संशोधन नेपाल राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको छ ।