नेपाल प्रहरीमा कमान्ड सेन्टरको स्थापना, विस्तार र वर्तमान अवस्था

 
पृष्ठभूमि:    
वर्तमान विश्व परिवेश सूचना प्रविधिमय बन्दै गएको छ । यस अर्थमा विज्ञान प्रविधिले हाम्रा लागि एउटा नयाँ आयाम थपिदिएको छ । जसका कारण कतिपय काल्पनिक कुराहरू आज यथार्थ सावित भएका छन् । इन्टरनेटको सहयोगमा नै विश्वको हरेक जनसरोकारका गतिविधि तत्काल सजिलै थाहा पाउन सकिन्छ । आधुनिक सूचना प्रविधिले हरेक मानवीय कार्यलाई सरल र छिटोछरितो बनाएको छ । हजारौं माइल टाढा रहेका आफन्तसँग एउटा बटन थिचेर कुराकानी गर्न र त्यहाँका गतिविधि प्रत्यक्ष हेर्न सकिने भएको छ । यस अत्याधुनिक सुविधाको प्रयोगबाट नेपाल प्रहरी पनि अछुतो छैन । अन्य राष्ट्रका प्रहरीझैं नेपाल प्रहरी पनि प्रविधिमय बनेको छ । यो क्रम समय अनुसार क्रमशः विस्तारित हुँदै गइरहेको छ । यसबाट परम्परागत कामलाई आधुनिकरूपमा अघि बढाउन सकिएको छ ।
नेपाल प्रहरीलाई समयानुकूल प्रविधिमैत्री बनाउने क्रममा आवश्यकता अनुसार विविध सफ्टवेयरको प्रयोग गर्दै परियोजना तयार हुँदै आएको छ । यीमध्ये प्रहरी प्रधान कार्यालय हाताभित्र जडान गरिएको कमान्ड सेन्टर नेटवर्क सबैभन्दा महत्वपूर्ण मानिन्छ । नेपाल प्रहरीका परियोजनामध्ये यो सफल र अति उपयोगी योजना पनि हो । कमान्ड सेन्टरको इतिहास केलाउँदा वि.स. २०६४ मा यसको अवधारणा ल्याइएता पनि वि.स.२०६६ सालमा दातृ निकायले परियोजना सञ्चालन गर्न आग्रह गरेपश्चात प्रहरी प्रधान कार्यालय, अन्वेषण योजना निर्देशनालयको समन्वय र अमेरिकी राजदूतावास नेपालको सहयोगमा वि.सं. २०६७ जेष्ठ २६ गते कमान्ड सेन्टरको स्थापना गरिएको हो । Fiber Optics Link द्वारा नेटवर्क गरी इन्टरनेट इन्ट्रानेट, इमेल, इन्टरनेट फोन सञ्चालनदेखि आवश्यकता अनुसारको Software हरू सञ्चालन गर्नु कमान्ड सेन्टर Network को मुख्य उद्देश्य रहेको छ । देशको भौगोलिक बनावट तथा प्रहरी प्रधान कार्यालय प्रविधिको पहुँचको आधारमा परियोजनामा नेटवर्किङ (Networking) कार्य गरिएको छ । जिल्ला प्रहरी कार्यालयहरूलाई प्राथमिकतामा राखेर तराईदेखि पहाड हुँदै हिमाली भेगका प्रहरी कार्यालयहरूलाई कमान्ड सेन्टरको नेटवर्क क्रमबद्ध रूपमा विस्तार गराउँदै लैजाने योजना अनुरूप कमान्ड सेन्टरको नेटवर्क विभिन्न चरणमा विस्तार गर्दै लगिएको छ ।

कमान्ड सेन्टर नेटवर्क विस्तार गरिएका कार्यालयहरू:
बढीभन्दा बढी प्रहरी कार्यालयहरूलाई कमान्ड सेन्टरको नेटवर्कमा आबद्ध गर्ने संगठनको उद्देश्य रहेको छ । नेपाल प्रहरी नेटवर्कको संरचना, थप साधनस्रोतको आवश्यकता, नेटवर्क सञ्चालनका लागि आवश्यक जनशक्तिको विकास लगायतका पूर्वाधारको व्यवस्थासँगै प्रहरी कार्यालयलाई नेटवर्कमा आबद्ध गराउने प्रयास जारी छ । सो क्रममा प्रथम चरणमा प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, महानगरीय प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर तथा ललितपुर, क्षेत्रीय प्रहरी कार्यालयहरू विराटनगर, हेटौंडा, पोखरा, सुर्खेत तथा दिपायल, जिल्ला प्रहरी कार्यालयहरू बाँके, रूपन्देही, पर्सा, कञ्चनपुर, झापा तथा धनुषा, महानगरीय प्रहरी वृत्तहरू कालीमाटी, बालाजु, महाराजगन्ज तथा बौद्ध, क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, ईटहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय, धरान सुनसरी गरी जम्मा २४ वटा एकाईहरूमा नेटवर्क गरी इमेल, इन्टरनेट र इन्ट्रानेट सेवा सञ्चालनमा छ ।
दोस्रो चरणमा प्रहरी प्रधान कार्यालय विशेष व्यूरो, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो, लागूऔषध नियन्त्रण व्यूरो, केन्द्रीय विधिविज्ञान प्रयोगशाला महाराजगन्ज, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, नेपाल प्रहरी अस्पताल, महाराजगन्ज, महानगरीय ट्राफिक प्रहरी महाशाखा, क्षेत्रीय प्रहरी तालिम केन्द्रहरू विराटनगर, भरतपुर, वुटवल, नेपालगन्ज तथा दिपायल, जिल्ला प्रहरी कार्यालयहरू सुनसरी, चितवन, दाङ, रौतहट, कैलाली, मोरङ तथा कपिलवस्तु गरी जम्मा १९ वटा थप प्रहरी कार्यालयहरूमा नेटवर्किङ गरिएको छ ।
तेस्रो चरणमा जिल्ला प्रहरी कार्यालयहरू सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा, नवलपरासी र बर्दिया, क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयहरू पथलैया बारा, बुटवल रूपन्देही, कोहलपुर बाँके गरी जम्मा १० वटा थप प्रहरी कार्यालयहरूमा नेटवर्किङ गरिएको छ ।
चौथो चरणमा जिल्ला प्रहरी कार्यालयहरू उदयपुर, इलाम, सिन्धुली, पाल्पा, प्युठान, डडेलधुरा, अछाम, दैलेख, काभ्रेपलाञ्चोक र गोरखा गरी १० वटा प्रहरी कार्यालयहरूमा नेटवर्क गरी इमेल, इन्टरनेट र इन्ट्रानेट सञ्चालनमा ल्याइएको छ ।
पाँचौ चरण अन्तर्गत जिल्ला प्रहरी कार्यालयहरू धनकुटा, तनहुँ, स्याङजा, बाग्लुङ, पर्वत, रसुवा, तेहथुम, पाँचथर, धादिङ्ग, सिन्धुपाल्चोक, अर्घाखाँची, ताप्लेजुङ्ग, लमजुङ्ग, गुल्मी र दोलखा समेत गरी जम्मा १५ वटा प्रहरी कार्यालयहरू नेटवर्क गरी इमेल, इन्टरनेट र इन्ट्रानेट सञ्चालनमा ल्याइएको छ ।
छैटौ चरण अन्तर्गत जिल्ला प्रहरी कार्यालयहरु भोजपुर, खोटाङ, ओखलढुङ्गा, सङ्खुवासभा, रामेछाप, नुवाकोट, डोल्पा र बैतडी समेत गरी जम्मा ८ वटा प्रहरी कार्यालयहरुलाई कमाण्ड सेन्टर नेटवर्कमा आवद्ध गरी इमेल, इन्टरनेट र इन्ट्रानेट सञ्चालनमा ल्याइएको छ ।
सातौं चरण अन्तर्गत जिल्ला प्रहरी कार्यालयहरु सोलुखुम्बु, म्याग्दी, जाजरकोट, रुकुम पश्चिम र सल्यान गरी जम्मा ५ वटा  प्रहरी कार्यालयहरुलाई कमाण्ड सेन्टर नेटवर्कमा विस्तार गरी हालसम्म ९१ वटा प्रहरी कार्यालयहरूमा इमेल, इन्टरनेट र इन्ट्रानेट सञ्चालनमा ल्याइएको छ ।
यसप्रकार विकास र विस्तार हुँदै लैजान सकिएमा  कमान्ड सेन्टरबाट उपलब्ध सेवामा वृद्धिको साथै संगठनलाई आधुनिक प्रविधिको उचाईमा पुर्‍याउन सकिनेमा विश्वस्त हुन सकिन्छ ।

कमान्ड सेन्टर नेटवर्कमा प्रयोग भएका Software हरू:
माथि उल्लेखित प्रहरी कार्यालयहरूमा सञ्चालित नेटवर्कमा विभिन्न Software हरू विकास गरी सञ्चालनमा ल्याइएको छ, जुन यसप्रकार रहेका छन्:

१. देशभरि घटेका विभिन्न घटनाहरूको Reporting गर्ने उद्देश्यले DIRS (Daily Incident Reporting System) विकास गरिएको छ । जसमा कुनै एक कार्यालयले इन्ट्री गरेको घटना विवरण जाहेरी कमान्ड सेन्टर नेटवर्क भएका सबै कार्यालयहरूले एकसाथ हेर्न र आवश्यकताअनुसार प्रयोग गर्न सक्छन् DIRS (Daily Incident Reporting System) मा रहेको Incident Data लाई GIS Web Map मा Sync गरिएको छ ।

२. नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरूको व्यक्तिगत विवरण राख्ने तथा प्रहरी कर्मचारीहरूले आफ्नो व्यक्तिगत विवरण हेर्ने उद्देश्यले PMIS (Personnel Management Information System) विकास गरिएको छ ।

३. अपराध अनुसन्धान सम्बन्धी विवरण राख्ने प्रणाली CCIS (Crime and Criminal Information System) विकास गरिएको छ ।

४.अपराध अनुसन्धान सम्बन्धी Hard-Copy File लाई Digitize गर्ने उद्देश्यले Case File Digitization तयार पारिएको छ ।
 
५. नेटवर्क भएका कार्यालयहरूका कुनै पनि File Sharing गर्नको लागि File Server प्रयोगमा ल्याइएको छ ।
 
६. कमाण्ड सेन्टरको नेटवर्क मार्फत प्रहरी प्रमुखज्युद्वारा क्षेत्रीय प्रमुखज्युहरुलाई video conference को माध्यमबाट समयानुकुल निर्देशन दिने गरिएको छ ।

उपरोक्त software हरूलाई कमान्ड सेन्टरमा आबद्ध सम्पूर्ण एकाईहरूबाट प्राविधिक रूपमा प्रयोग गर्न सकिनेछ । नेपाल प्रहरीमा Document sharing तथा File sharing कार्यको लागि file server प्रयोगमा ल्याइएको छ । तथापि सो System लाई अझ बढी प्रभावकारी तथा सुरक्षित बनाउनका साथै संगठनले अख्तियार गरेको नीति “प्रविधियुक्त प्रहरी” तथा "Less Paper" अवधारणालाई साकार पार्न Proprietary Document Management System (DMS) लागू गर्न सकिने छ । संगठनमा रहेका विभिन्न स्रोतहरूको सही ढंगमा परिचालन गर्न Enterprise Re-source Planning System (ERP) लागू गर्न सकिनेछ । माग गरिए बमोजिमका video conferencing device हरू प्राप्त भएपश्चात e-mail system मा unified e-mail messaging system को प्रयोगबाट real time मा information आदान प्रदान गर्न सकिने छ ।
साथै DIRS (Daily Incident Reporting System) software मा data entry गर्नको लागि कम्प्युटर निर्देशनालयमार्फत हालसम्म विभिन्न प्रहरी कार्यालयहरूको लागि user तयार गर्ने कार्य गरिएको छ । ती कार्यालयहरूमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी, क्षेत्रीय प्रहरी कार्यालयहरू विराटनगर, हेटौंडा, पोखरा, सुर्खेत र दिपायल, महानगरीय प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुर, जिल्ला प्रहरी कार्यालयहरू बाँके, चितवन, दाङ, धनुषा, कञ्चनपुर, पाल्पा, रौतहट, झापा, कैलाली, कपिलवस्तु, मोरङ्ग, नवलपरासी, पर्सा र सर्लाही, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान, महानगरीय प्रहरी वृत्तहरू बालाजु र बौद्ध रहेका छन् ।
प्रहरी प्रधान कार्यालय, परिचालन कक्षस्थित कमान्ड सेन्टरमा रहेको DIRS Software मा क्षेत्रीय कार्यालयको डेस्कबाट डाटा मोनिटरिङ तथा इन्ट्री र अपडेट गर्ने कार्य भइरहेको छ । साथै कमान्ड सेन्टरमा आबद्ध तराई जिल्लाका सम्पूर्ण प्रहरी कार्यालय तथा उपत्यकास्थित सम्पूर्ण परिसरहरूमा CCIS software install गरी data entry तथा reporting गर्ने कार्य भइरहेको छ ।

प्रहरी कर्मचारीहरूलाई तालिमको व्यवस्था:
कुनै पनि प्रविधिलाई सफलतापूर्वक सञ्चालन तथा अपडेट गर्न दक्ष जनशक्तिको आवश्यकता पर्दछ । यस आवश्यकता पूर्तिको लागि सम्बन्धित प्राविधिकलाई तालिम आवश्यक पर्दछ । प्रहरी प्रधान कार्यालयमा कमान्ड सेन्टर स्थापना भएपश्चात अमेरिकी दुतावासको सहयोगमा २०६९ असार ५ र ६ गते अमेरिकाको वासिङटन डिसीमा सञ्चालन भएको "IBM i2 Training Conferences for Police I.T. Administrator and Deputy System Officer" विषयक तालिम कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट कम्प्युटर निर्देशनालयका दुई सिनियर प्रहरी अधिकृतहरूको सहभागिता थियो ।
उक्त i2 Training बाट नेपाल प्रहरीमा MS SQL Server प्राप्त भएपश्चात MS Access बाट MS SQL Server मा Database कसरी प्रयोग गर्न सकिन्छ र User Access Control को बारेमा जानकारी प्राप्त भएको थियो । IBM i2 बाट Dongle विना इन्टरनेट प्रयोग गर्न सकिने ।
साथै प्रहरी प्रधान कार्यालय, अन्वेषण योजना निर्देशनालयको समन्वयमा अमेरिकी दूतावासबाट नेपाल प्रहरीमा कार्यरत ३४ जना प्रहरी अधिकृतहरूलाई प्रहरी प्रधान कार्यालय कमान्ड सेन्टरमा i2 System सम्बन्धी तालिम प्रदान गराएको छ । उक्त तालिममा हालसम्म प्रहरी नायब महानिरीक्षक १, प्रहरी उपरीक्षक १, प्रहरी नायब उपरीक्षक ४, प्रहरी निरीक्षक १६, प्रहरी नायब निरीक्षक ११ र प्रहरी सहायक निरीक्षक १ गरी जम्मा ३४ जना सहभागी भएका छन् । यसबाट दक्षता अभिवृद्धिको साथै कार्य सम्पादनमा सहजता आएको महसुस गरिएको छ ।

निष्कर्ष:
नयाँ प्रविधिको उपयोग गर्नु भनेको हुँदै आएको कामलाई नयाँ ढंगबाट सम्पादन गर्नु हो । कमान्ड सेन्टरको स्थापनासँगै नेपाल प्रहरीका काम नयाँ तरीकाबाट सम्पन्न हुँदै आएका छन् । यसबाट विभिन्न प्रहरी कार्यालयबीच आदानप्रदान गर्नुपर्ने सूचना सुरक्षित र छिटोछरितो तवरले पठाउन सकिएको छ । कार्यालयका महत्वपूर्ण कागजात भण्डारण गर्न सकिएको छ । राखिएका कागजात तुरून्तै फेला पार्न सकिने भएको छ । नष्ट भई जाने समस्या समाधान भएको छ । दैनिक घटना जाहेरी प्रणालीका कारण देशभरका घटना विवरण तुरून्तै पाउन सकिन्छ । इमेलबाट पनि तुरून्तै पठाउन/पाउन सकिन्छ । टेलिफोन, फ्याक्स, कार्यालय प्रयोजनका पत्र तथा अन्य विविध कागजात प्रिन्ट गर्ने खर्च बचत भएको छ । यसप्रकारबाट नेपाल प्रहरीको पेपरलेस अवधारणालाई साकार रूपसमेत दिन सकिन्छ । प्रत्येक प्रहरी कर्मचारीले आफ्नो तालिम, पुरस्कार, सेवाबारे सबै विवरण आफै हेर्न सक्छन् । कमान्ड सेन्टरको स्थापनाले नेपाल प्रहरीका कार्यालयहरू र कार्यशैलीमा आमूल परिवर्तन आएको छ ।
कमान्ड सेन्टर परियोजनाले उपलब्ध गराएका सेवाहरूको प्रयोगबाट नेपाल प्रहरीका काम कारबाहीमा चुस्तता आउने प्रस्ट आधार देखिएको छ । शान्ति सुरक्षा र आमनागरिकको सेवामा छिटो छरितो काम गर्न सकिनेमा दुईमत छैन । यसबाट के निष्कर्षमा पुग्न सकिन्छ भने उचित प्रविधि र उपकरणको छनौट नै कुनै पनि संगठनको सफलताको लागि महत्वपूर्ण पक्ष हो । जसले कार्यरत कर्मचारीको साथै समग्र संगठनको कार्य सञ्चालनमा पूर्णरूपमा फाइदा पुग्न सक्छ ।
अर्कोतर्फ राज्यमा शान्ति सुरक्षा कायम गर्न र अपराध अनुसन्धान सफल र छिटोछरितो तरीकाबाट सम्पन्न गर्न प्रविधिको सहयोग अपरिहार्य छ । प्रहरी कार्यका लागि सहज तरीकाले पाइला चाल्न र आधुनिक परिवर्तनका मुद्दालाई बुझ्न पनि प्रविधिकै प्रयोग आवश्यक हुन्छ । सूचना प्रविधिले मान्छेको हैसियत हेरेर काम गर्दैन, सबै वर्गका मानिसहरूलाई समान सेवा प्रदान गर्ने भएकोले तुलनात्मक रूपमा निष्पक्ष र पारदर्शी काम हुन्छ । जिम्मेवारी वोध, असल व्यवस्थापन, उपयुक्त योजना र दक्ष जनशक्तिको प्रयोगले हाम्रा यी परियोजना सफल हुनेछन् । अबको प्रहरी सेवा डण्डामा आधारित भएर होइन नीति र प्रविधिले चल्नु श्रेष्यकर हुन्छ र यस अभिप्रायलाई कमाण्ड सेन्टरजस्तो परियोजनाले साकार रूप दिन सक्नेमा कुनै आशंका रहन सक्दैन ।
नेपाल प्रहरीको सूचना प्रविधि क्षेत्रको एउटा प्रमुख भागको रूपमा स्थापित हुन सफल कमाण्ड सेन्टरको स्थापना र उन्नतमा नेपालस्थित अमेरिकी राजदूतावासले प्रदान गरेको यस प्रकारको महत्वपूर्ण सहयोग अत्यन्तै सकारात्मक र प्रशंसायोग्य छ । यसलाई नेपाल प्रहरीले सफल योजनाको रूपमा लिएको र आगामी दिनमासमेत प्रविधिको क्षेत्रमा थप प्रबल बन्न अग्रसर हुनुपर्ने आवश्यकता महसुस गरिएको छ ।