सवारी दुर्घटनामा मृत्यु तथा घाइते

काठमाडौं, २९ पुस
धादिङ्ग : थाक्रे गाउँपालिका–५ बसेरीस्थित त्रिभुवन राजपथमा बा.१६ च ८७७३ नम्बरको स्कारपियो गाडी शनिबार आफै अनियन्त्रित भई दुर्घटना हुँदा गाडी चालक चितवनको सौराहा बस्ने ३५ वर्षीय भाजुराम महतोको घटनास्थलमै मृत्यु भएको छ । गाडीमा सवार सोही ठाउँ बस्ने ३८ वर्षीया खिमकुमारी महतो गम्भीर घाइते भएकोले उपचारको लागि धार्के अस्पताल लगिएको छ ।
झापा : दमक नगरपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा मे.१ ख १७१० नम्बर र को.१ ख ३६५९ नम्बरका यात्रुबाहक बस शनिबार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मे.१ त ४७५४ नम्बरको ट्याक्टर समेत मे.१ ख १७१० नम्बरको बसमा ठोकिन गई दुर्घटना हुँदा दुवै बसका चालक समेत १७ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि दमक अस्पताल पठाइएको र अवस्था सबैको बोल्न सक्ने रहेको छ । उक्त ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली : लम्कीचुवा नगरपालिका–६ गुलरामा ना.७ ख २२६ नम्बरको बस र ना.४ ख ५१३२ नम्बरको बस शनिबार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि कोहलपुर पठाइएको छ ।
कञ्चनपुर : भिमदत्त नगरपालिका–३ स्थित सडकमा लु.१ ख ८६९४ नम्बरको बसले यूके–०६–एजे–६३२० नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कञ्चनपुरको लेडकोट नगरपालिका–९ बस्ने २८ वर्षीय मनोज बोहोराको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रे : धुलिखेल नगरपालिका–४ बाँसघारीस्थित अरनिको राजमार्गमा बा.५९ प ८९५१ नम्बरको स्कुटरलाई ना.६ ख १९४३ नम्बरको बाह्रचक्के गाडीले शुक्रबार ठक्कर दिँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक धुलिखेल नगरपालिका–९ बस्ने ५२ वर्षीय राजकुमार ठकुरीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने गाडी प्रहरीको नियन्त्रणमा छ भने हाल फरार रहेका चालकको खोजी कार्य भइरहेको छ ।
बर्दिया : बाँसगढी नगरपालिका–९ माछागढमा लु.१ ख ८१०८ नम्बरको ट्रकले भे.७ प ५४५ नम्बरको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय मनिराम चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी सोही मोटरसाइकलमा सवार मनिरामकै श्रीमती ४० वर्षीया देवकली चौधरीलाई थप उपचारको लागि भारतको लखनउ रिफर गरिएको छ । ट्रकका चालक फरार भएकोले खोजतलास भइरहेको छ ।
सप्तरी : सप्तकोशी नगरपालिका–१० स्थित भित्री सडकमा बा.२८ प १०६२ नम्बरको मोटरसाइकलले ३ वटा साईकललाई शुक्रबार ठक्कर दिँदा भएको दुर्घटनामा ७ जना घाइते भएका छन् । मोटरसाइकल चालक सप्तरीको सप्तकोशी नगरपालिका–४ बस्ने २० वर्षीय रिकेशकुमार चौधरी लगायत ४ जना र साईकलमा सवार सप्तरीको कन्चरुप नगरपालिका–६ बस्ने १८ वर्षीय शिरिशकुमार सदा लगाएत ३ जना गरी ७ जना घाइते भएकोमा ५ जनालाई स्थानीय मेडिकलमा र २ जनालाई बिराटनगर गोल्डेन रिफर गरी उपचार भइरहेको छ । उनीहरुमध्ये ४ जनाको अवस्था गम्भीर र ३ जनाको सामान्य रहेको छ ।
दुर्घटनामा सम्बन्धमा स्थानीय प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।