सवारी दुर्घटनामा मृत्यु तथा घाइते
काठमाडौं, १२ जेठ
सिराहा : धनगढी नगरपालिका-३ बनौलीस्थित सडकमा स.८ प ५३६६ नम्बरको मोटरसाइकलले शनिबार ठक्कर दिँदा गम्भीर घाइते भएकी पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया सबरवती चौधरीको श्रमजिबी अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक लहान नगरपालिका-१३ बस्ने २५ वर्षीय अखलेशकुमार महतोको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कन्चनपुर : बेलौरी नगरपालिका-२ शान्तिपुरमा म.१ प ५०८१ र से.५ प ६७५८ नम्बरका मोटरसाइकल शुक्रबार एकआपसमा ठक्कर खाई भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका म.१ प ५०८१ नम्बरको मोटरसाइकलका चालक रैकवार बिचुवा-४ बस्ने २६ वर्षीय फुलचन रानाको सेती अन्चल अस्पताल धनगढीमा र से.५ प ६७५८ नम्बरको मोटरसाइकलका चालक बेलौरी नगरपालिका-७ बस्ने २५ वर्षीय मानबहादुर श्रेष्ठको बेलौरी स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका म.१ प ५०८१ नम्बरको मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका ब्यक्ति र से.५ प ६७५८ नम्बरको मोटरसाइकलमा सवार बेलौरी नगरपालिका-७ बस्ने १९ वर्षीय जगलाल चौधरीको सेती अन्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ । दुबै मोटरसाईकल प्रहरीको नियन्त्रणमा छन् ।
मकवानपुर : मनहरी गाउँपालिका-७ मनहरी बजारस्थित पूर्व-पश्चिम राजमार्गमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको यूएनको ट्याङकरले बाटो काट्दै गरका पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय राम भारतीलाई शुक्रबार ठक्कर दिँदा गम्भीर घाइते भएकोमा पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिऐको छ ।
कैलाली : गोदावरी नगरपालिका-९ वल्मीस्थित राजमार्गमा ना.५ ख ५१०० नम्बरको बस र से.१ प ४४६५ नम्बरको मोटरसाइकल शुक्रबार एकआपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करीव २८ वर्षीय पुरुषको सेती अन्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा छन् भने हाल फरार रहका बस चालकको खोजी भइरहेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) : बर्दघाट नगरपालिका-२ चिसापानीस्थित महेन्द्र राजमार्गमा लु.८ प ५७२२ नम्बरको मोटरसाइकल शुक्रबार आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही नगरपालिका-५ सेखुवानी बस्ने २७ वर्षीय रेशम बोहराको परासी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा सवार पाल्पा थिमुरे-३ देउराली बस्ने १८ वर्षीय कमल गाहा घाइते भएकोले उपचारको लागि सोही अस्पतालमा लगिएको छ ।
झापा : मेचीनगर नगरपालिका-१ सारुगौरास्थित मे.१ त ५४४४ नम्बरको ट्याक्टर शुक्रबार पल्टँदा ट्याक्टरमा सवार सोही नगरपालिका-२ बहादुरगंज बस्ने १८ वर्षीय अनिश दनुवारको ट्याक्टरले च्यापिएर घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालक फरार रहेकोले खोजी भइरहेको छ ।
कपिलवस्तु : बुद्धभूमि नगरपालिका-९ चम्पापुरस्थित पुर्व-पश्चिम राजमार्ग छेउमा ना.२ ख ७४८१ नम्बरको ट्रक टायर पन्चर भई रोकेर राखेको अवस्थामा ना.५ ख ७८७६ नम्बरको बस ठोक्किन जाँदा भएको दुर्घटनामा बसमा सवार ४२ जनामध्ये बस चालक प्युठान, प्युठान नगरपालिका-६ बस्ने ३२ वर्षीय चन्द्रप्रकाश भण्डारी समेत १९ जना घाइते भएकोले उपचारको लागि सञ्जिबनी अस्पताल चन्द्रौटा लगिएको छ । घाइतेमध्ये ११ जना बुटवल भएका छन् ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

