नगद चोरी गरेको अभियोगमा ट्रकचालक पक्राउ
धनकुटा, १२ जेठ
पाख्रीबास नगरपालिका-५ भैसे बस्ने रणबहादुर तामाङको आफ्नै घरमा रहेको पसलबाट नगद चोरी गरेको अभियोगमा भोजपुरबाट धरानतर्फ आउँदै गरेको ना.६ ख ८०२२ नम्बरको मालबाहक ट्रकका चालक धनकुटा, धनकुटा नगरपालिका-१ बस्ने ३२ वर्षीय भरत राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त पसलमा चालक राई र सहचालक भोजपुर बोखिम घर ठेगाना बताउने माईला भन्ने व्यक्तिले नास्ता खाँदै गरेकोमा पसल संचालक भित्र गएको अवस्थामा बाकसमा रहेको करीव ८ लाख रुपैयाँ नगद चोरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरीले सोही नगरपालिका-५ निरौला मोडमा ट्रक फेला पारी तलासी गर्दा चालक सिट पछाडीको टुलबक्समा प्लाष्टिकमा कपडाले बेरेर राखेको अवस्थामा नगद ४ लाख रुपैयाँ फेला पारी चालक राईलाई नियन्त्रणमा लिएको हो ।
हाल फरार रहेका सहचालकको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

