आगलागीबाट धनमाल क्षति
काठमाडौं, १३ जेठ
झापा : गौरीगंज गाउँपालिका-६ खजुरगाछी बजार बस्ने महेन्द्र श्रेष्ठको टिनको छानो भएको घरमा रहेको ब्याग पसल र धमेन्द्र गौस्वामीले संचालन गरेको कस्मेटिक पसलमा शनिबार बिद्युत सर्ट भई आगलागी हुँदा दुबै जनाको पसलमा रहेको बिभिन्न सामान र घर समेत जलेर करीब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
संखुवासभा : चैनपुर नगरपालिका-३ बस्ने केदारबहादुर सिवाको फुसको छानो भएको घरमा शनिबार आगलागी हुँदा नगद १ लाख ५० हजार रुपैयाँ, सुन १ तोला, चाँदी, अन्नपात र भाँडाबर्तन समेत जलेर करीब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
लम्जुङ : सुन्दरबजार नगरपालिका-८ बलिथुङ बस्ने चन्द्रबहादुर सार्कीको टिनको छानो भएको घरमा चट्याङ परी शनिबार आगलागी हुँदा करीब ११ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
बारा : फेटा गाउँपालिका-७ गम्हरियास्थित जाफर आलम अन्सारीको घरमा खाना बनाउने क्रममा शनिबार आगलागी हुँदा नगद १ लाख ५० हजार रुपैयाँ सहित करीब ७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा लिई घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

