मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम समापन

काठमाडौं, ३१ जेठ
    नेपाल प्रहरी र काठमाडौं स्कुल अफ ल बाट संयुक्त रुपमा आयोजित मानव अधिकार प्रशिक्षक प्रशिक्षण ( सिनियर प्रहरी अधिकृत ) तालिम एक कार्यक्रमबिच सम्पन्न भयो ।
    काठमाडौं स्कुल अफ ल को प्राङगण ठिमी भक्तपुरमा बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
    समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुहुदै तालिममा हासिल गरेका ज्ञान,सिप,कौशललाई आफ्नो कार्यक्षेत्रमा सहकर्मी प्रहरी कर्मचारीहरुलाई पनि प्रशिक्षित गर्न निर्देशन दिनुभयो ।
    महानिरीक्षक खनालले राष्ट्रको पहिलो पंक्तिमा रहेर राष्ट्रले दिएको जिम्मेवारी पूरा गरी समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीले उल्लेखनीय भूमिका खेलेको चर्चा गर्नुहुदै कानुन कार्यान्वयन तथा अपराधीलाई कानूनी दायरामा ल्याउने क्रममा मानव अधिकारको संरक्षण एवं सम्बर्द्धन प्रति प्रहरी सदैव संवेदनशील रहेको समेत बताउनुभयो । साथै आफ्नो भूमिका निर्वाह गर्ने शिलशिलामा मानव अधिकारको संरक्षण एवं सम्बर्द्धन प्रति सजग र सचेत भएर अगाडी बढ्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।
    समारोहमा पूर्व महान्याधिवक्ता तथा काठमाडौं स्कुल अफ ल का कार्यकारी निर्देशक प्रोफेसर डा.युवराज संग्रौला र प्रहरी महानिरीक्षक खनालबिच मायाको चिनो आदानप्रदान भएको थियो ।
    कार्यक्रमा पूर्व महान्याधिवक्ता तथा काठमाडौं स्कुल अफ ल का कार्यकारी निर्देशक प्रोफेसर डा.युवराज संग्रौलाले मानव अधिकार संरक्षण एवं सम्बर्द्धन सम्बन्धी आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो भने सोही स्कुलका अध्यक्ष प्रोफेसर माधव प्रसाद आचार्यले धन्यवाद मन्तव्य व्यक्त गर्नुभयो । साथै कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठले  मन्तव्य व्यक्त गर्नुभयो ।     
    ७ दिन कार्यअवधि रहेको उक्त तालिममा ३० जना सिनियर प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।