गृहमन्त्री थापाबाट मानवअधिकार संरक्षण प्रर्वद्धनमा नेपाल प्रहरी बिषयक कार्यशाला गोष्ठी उद्घा्टन

काठमाडौं, २१ असार
    गृहमन्त्री रामबहादुर थापाले प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान बिभागद्धारा बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा बिहीबार आयोजित एक समारोहबीच “मानवअधिकार संरक्षण प्रर्वद्धनमा नेपाल प्रहरी” बिषयक एकदिने कार्यशाला गोष्ठीको  उद्घााटन गर्नुभयो ।
    सो अवसरमा गृहमन्त्री थापाले मानवअधिकार संरक्षण गर्ने राष्ट्रको जिम्मेवारी भएको सन्दर्भमा नेपाल प्रहरीले नयाँ ढंगले समीक्षा गरेर आफ्‍नो भूमिकालाई थप माथि उठाउनुपर्ने बताउनुभयो । गैरकानूनी र आपराधिक कार्य निस्तेज गर्ने क्रममा मानवअधिकार उल्लंघन भएको छ वा छैन त्यसको स्रोत र बस्तुगत आधार पत्ता लगाएर अपराध अनुसन्धान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
    लामो समयको राजनीतिक आन्दोलन पश्चात नेपाल नयाँ परिवेशमा प्रबेश गरेकोले मानवअधिकार संरक्षण र प्रर्वद्धन समय, परिस्थिति र आवश्यकताको दृष्टिकोणले महत्वपूर्ण बिषय भएको उहाँले चर्चा गर्नुभयो ।
    गोष्ठी उदघाटन सत्रमा मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले मानवअधिकार संरक्षणका लागि गरिरहेका कार्यको समीक्षा गर्नुका साथै मानवअधिकार संरक्षणमा आइपर्ने चूनौती र समाधान गर्न आगामी कार्यदिशा तयार गरिने  बताउनुभयो ।
    मानवअधिकार संरक्षण गर्न उपलव्ध स्रोत र साधनको आधारमा पारदर्शी, जवाफदेही, कानूनसम्मत रुपमा प्रहरी अगाडि बढ्ने समेत उहाँले बताउनुभयो । सरकारको निर्देशन अनुसार व्यावसायिक र इमान्दार भएर काम गर्न सके प्रहरी र नागरिक समाजबीचको खाडल पूरा गर्न सकिने समेत प्रहरी महानिरीक्षक खनालले बताउनुभयो ।
    आजै सम्पन्न हुने उक्त गोष्ठीमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम रहेको छ ।
    उक्त गोष्ठीमा प्रहरी प्रधान कार्यालयका विभिन्न विभाग,ब्युरो तथा निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी बिमानस्थल सुरक्षा कार्यालय गौचर, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहापथ, महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं,ललितपुर,भक्तपुर, महानगरीय प्रहरी शिक्षालय महाराजगञ्ज लगायतका कार्यालय प्रमुखहरूको सहभागिता रहेको छ ।