"मानवअधिकार संरक्षण प्रर्वद्धनमा नेपाल प्रहरी" विषयक कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं, २१ असार
    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागद्धारा बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजित “मानवअधिकार संरक्षण प्रर्वद्धनमा नेपाल प्रहरी”बिषयक एकदिने कार्यशाला गोष्ठीको बिहीबार समापन गर्नुभयो ।
    उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले नागरिकको आवश्यकता र सुरक्षा पुरा गर्ने सन्दर्भमा राज्यको प्रमुख कानून कार्यान्वयन गर्ने निकायको रुपमा रहेको नेपाल प्रहरीले आफ्नो सीमित साधनस्रोत र न्यूनतम उपलब्ध प्रविधिको सदुपयोग गर्दै जनअपेक्षा अनुरुप परिणाममुखी काम गर्ने कार्यक्रम तर्जुमा गरेको बताउनुभयो ।
    अन्तर्राष्ट्रिय स्तरको प्रहरी कार्यबाट नमूना प्रहरी संगठनको रुपमा परिमार्जन गर्ने हेतू नेपाल प्रहरीले मानवअधिकारको संरक्षण र सम्बर्द्धन गर्ने कार्यमा समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उहाँले मानवअधिकारको संस्थागत संरक्षणको लागि २०५९ सालमा नै नेपाल प्रहरीले मानवअधिकार शाखाको स्थापना गरी यसको सवलीकरण तथा स्तरोन्नति गर्दै आएको बताउनुभयो ।
    समापन कार्यक्रम अघि गोष्ठीको दिवा सत्रमा मानवअधिकार संरक्षण, प्रर्वद्धनमा प्रस्तुतीकरण गर्दै पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले मानवअधिकार शब्द प्रिय शब्द हुँदै गरेको महशुस आफूले गरेको र यो सकारात्मक पक्ष भएको उल्लेख गर्दै यो वर्ष आधारभूत कानून निर्माण, परिवर्तन र व्यवस्थापनको वर्षको रुपमा रहेकोले चुनौतीपूर्ण रहेको समेत बताउनुभयो ।
    पूर्व महान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौलाले प्रहरी व्यवहार तथा यातना: नागरिक समाजको दृष्टिमा नेपाल प्रहरी विषयमा प्रस्तुतीकरण गर्नुभएको गोष्ठीमा अधिवक्ता सुभाष आचार्यले मुलुकी अपराध (संहिता) ऐन २०७४, नेपाल प्रहरीको चुनौती सम्भावना विषयमा र नेपाल प्रहरीको तर्फबाट प्रहरी प्रधान कार्यालय, मानव अधिकार शाखाकी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले मानवअधिकार संरक्षण र प्रर्वद्धनमा नेपाल प्रहरी विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
    गोष्ठीमा राष्ट्रिय न्यायिक प्रतिष्ठानका प्रमुख केशरीराज दाहाल र राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले प्रस्तुतीकरणको सम्बन्धमा आ-आफ्नो रायसहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।