सवारी दुर्घटनामा मृत्यु तथा घाइते

काठमाडौं, २३ असार
    काठमाडौं महानगरपालिका–३१ शंखमुलमा बा.८० प ११५३ नम्बरको मोटरसाइकल शनिबार अनियन्त्रित भई पल्टेर दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय रबिन बस्नेत र ललितपुर महानगरपालिका–१६ बस्ने ३२ वर्षीय उमेश महर्जन गम्भीर घाइते भएकोले उपचारको लागि ट्रमा सेन्टर पठाइएकोमा उपचारको क्रममा उमेश महर्जनको मृत्यु भएको छ । घाइते रबिनलाई थप उपचारको लागि नर्भिक अस्पताल थापाथली लगिएको छ ।
    यसैगरी काठमाडौं शंखरापुर नगरपालिका–१ जर्सिङपौवामा शुक्रबार बा.७६ प ८०९० नम्बरको स्कुटर अनियन्त्रित भई भिरबाट अंदाजी १ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा चालक काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँबस्ती बस्ने १७ वर्षीय रोनाल योन्जनको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा स्कुटर पछाडी सवार सोही ठाउँ बस्ने १७ वर्षीय पेम्वा वाईवा घाइते भएकोले उपचारको लागि पिपुल्स लाईफ केयर अस्पताल साँखु पठाइएको छ ।
    काभ्रे : बनेपा नगरपालिका–६ स्थित सडकमा ग.९प ६९४० नम्बरको मोटरसाइकल शनिबार अनियन्त्रित भई नालीमा पल्टेर दुर्घटना हुँदा चालक सोही नगरपालिका–७ नयाँ तरकारी बजार बस्ने २६ वर्षीय अभिषेक खैरगोलीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल पछाडी सवार बनेपा नगरपालिका–७ बस्ने काभ्रे सापिङका २५ वर्षीय बिष्णुराज भारती समेत गम्भीर घाइते भएकाले शिर मेमोरियल अस्पताल बनेपा हुँदै थप उपचारको लागी बीर अस्पताल काठमाडौं पठाइएको छ ।
    सुनसरी : इटहरी उपमहानगरपालिका–१० ट्रान्सपोर्टस्थित कोशी राजमार्गमा शनिबार को.२त ४२३० नम्बरको ट्याक्टर गुडिरहेको अबस्थामा सहचालक सोही उपमहनगरपालिका–५ बालग्राम बस्ने १७ वर्षीय अजय मलिक ट्याक्टरबाट चिप्लेर लड्दा गम्भीर घाइते भएकोले उपचारको लागि घोपा अस्पताल धरान पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
    मुस्ताङ : स्याङबोचेस्थित जोमसोम–लोमान्थाङ निर्माणाधिन भित्री सडकमा शुक्रबार बा.२ क २२१९ नम्बरको टिपर अंदाजी ५० मिटर तल खसेर दुर्घटना दुर्घटना हुदाँ चालक धादिङ घर भएका २३ वर्षीय सुजन घलान सहित ६ जना महिला र १४ जना पुरुष गरी २० जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । उनीहरुको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ ।
    धादिङ : गजुरी गाउँपालिका–१ गलौदीस्थित राजमार्गमा ना.४ ख ९८६५ नम्बरको ट्रकले पैदलयात्री सोही गाउँपालिका–७ किरान चौक बस्ने ६० वर्षीया खेमकुमारी आचार्य र ९ वर्षीय  रविनकुमार आचार्यलाई ठक्कर दिँदा  घाइते भएकोले उपचारको लागि गजुरी अस्पताल लैजाने क्रममा खेमकुमारी आचार्यको बाटोमै मृत्यु भएको छ । घाइते रविनकुमारलाई ट्रमा सेन्टर काठमाडौं पठाइएको  छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    महोत्तरी : बर्दिबास नगरपालिका–५ स्थित राजमार्गमा बा.४४ प ६७५९ नम्बरको मोटरसाइकल शुक्रबार अनियन्त्रित भई पुलमा ठोकिएर दुर्घटना हुँदा धनुषा जनकपुर उपमहानगरपालिका–१५ बस्ने २४ वर्षीय रोशन कुमार साहको घटनास्थलमै मृत्यु भएको   छ । दुर्घटनामा धनुषा बिसरपुरा बस्ने ३५ वर्षीय सन्तोष कुमार महतो गम्भीर घाइते भएकोले जानकी हेल्थ केयर जनकपुर हुँदै थप उपचारको लागि ग्राण्डी अस्पताल धापासी काठमाडौं पठाइएको छ ।
    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।