सवारी दुर्घटनामा मृत्यु तथा घाइते

काठमाडौं, २७ असार
    ललितपुर : ललितपुर महानगरपालिका-१४ थसीखेलमा बा.१ ख ९२५४ नम्बरको बसले बा.७५ प ५६४७ नम्बरको स्कुटरलाई मंगलबार ठक्कर दिंदा स्कुटर चालक खोटाङ घर भई हाल ललितपुर बस्ने ३८ वर्षीया सुनिता कार्की  र सोही स्कुटरमा सवार उनकी १२ वर्षीया छोरी समृद्धी कार्की घाईते भएकाले उपचारार्थ बिएण्डबि अस्पताल लगिएकोमा उपचारको क्रममा सुनिता कार्कीको मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले  खोजी गरिरहेको छ ।
     नवलपरासी (बर्दघाट सुस्ता पूर्व) : बिनयी त्रिबेणी गाउँपालिका-६ शिवपुरस्थित सडकखण्डमा लु.३ त १०७४ नम्बरको ट्याक्टरले मंगलबार सोही ठाउँ बस्ने ४५ वर्षीय पैदलयात्री रमेश थापालाई ठक्कर दिंदा घट्नास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    सप्तरी : शम्भुनाथ नगरपालिका-३ स्थित पूर्वपश्चिम राजमार्गमा बा.१९ च १४२४ नम्बरको जिपले मंगलबार  साईकललाई ठक्कर दिंदा गम्भीर घाईते भएका साईकलयात्री सोही नगरपालिका-१ खोक्सर बस्ने ४० वर्षीय श्रीलाल चौधरीको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको छ । फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ ।
    धनुषा : गणेशमान चारनाथ नगरपालिका-१ बालुवा खोला नजिकै पूर्वपश्चिम राजमार्गमा ना.५ ख ५२२३ नम्बरको बसले हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष पैदलयात्रीलाई मंगलबार ठक्कर दिँदा गम्भीर घाईते भएकोले उपचारार्थ न्युरो अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
    दुर्घटनाका  सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।