डुबेर तथा खोलाले बगाएर मृत्यु
काठमाडौं,२९ असार
नुवाकोट : बिदुर नगरपालिका–५ बस्ने राजेश तिमिल्सिना क्षेत्रीको २ वर्षीय छोरा रंजित तिमिल्सिनाको बिहीबार पानीमा डुबेर मृत्यु भएको छ । घर नजिकै खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबेर असक्त भएका उनको उपचारको लागि जिल्ला अस्पताल त्रिशुली लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
मोरङ : मिक्लाजुङ गाउँपालिका–९ महेश चोक बस्ने ७२ वर्षीय भिम बहादुर माझी बिहीबार सोही ठाउँ स्थित राम्री खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।
झापा : कचनकवल गाउँपालिका–७ वालुबाडी बस्ने कृष्ण राजवंशीको ४ वर्षीय छोरा जयराम राजवंशीको बिहीबार सोही ठाउँमा रहेको कुलोमा खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
बर्दिया : बढैयाताल गाउँपालिका–१ शान्तिपुर बस्ने १४ वर्षीय त्रिपाल वि.सी.को भैंसी चराउन गएको अवस्थामा बिहीबार मानखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
रौतहट : माधवनारायण नगरपालिका–२ खेसरैया बस्ने सन्तलाल साहको १० वर्षीय छोरा कमलेश साह असार २६ गतेबाट हराई बेपत्ता भएकोमा खोजतलास गर्ने क्रममा सोही स्थानमा रहेको सार्बजनिक पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा बिहीबार फेला परेका छन् ।
यसैगरी रौतहट ईशनाथ नगरपालिका–६ जयनगर बस्ने शेख समुल्लाको १० वर्षीय छोरा शेख माजिद बिहीबार घरदेखि १ कि.मि.टाढा खेतको खाल्डोको पानीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।
काभ्रे : पाँचखाल नगरपालिका–११ बोहोरे दोभानस्थित झिगु खोलाको किनारमा बिहीबार सोही नगरपालिका–१२ बस्ने ७५ वर्षीय डोरनाथ कुँवर खोलाले बगाई मृत्यु भएको अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

