आगलागीबाट धनमाल क्षति
काठमाडौं, ३१ असार
काठमाडौं महानगरपालिका-३१ खरीबोटमा सिन्धुली डुङ्ग्रे घर भएका ४३ वर्षीय ओमकुमार श्रेष्ठले चलाएको बा.८० प ३८३५ नम्बरको मोटरसाइकलमा शनिबार ब्याट्रीको तार सर्ट भई आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर क्षति भएको छ ।
मोरङ : बिराटनगर महानगरपालिका-१४ जतुवा बस्ने सन्तोष यादवको फुसको छानो भएको एकतले घरमा शनिबार बिजुली सर्ट भई आगलागी हुँदा नगद १५ हजार र घर जलेर करीब १ लाख १५ हजार रूपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
सिराहा : मिर्चैया नगरपालिका-९ ढोड्ना बस्ने बीरेन्द्र महतोको पोल्ट्रीफार्ममा शनिबार आगलागी हुँदा करीव १० लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
यसैगरी सिराहा लहान नगरपालिका-२० मोतीपुर बस्ने गडाइ महतोको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट आइतबार आगलागी हुँदा आगो फैलिएर छिमेकी देबनारायण महतोको कच्ची घरमा समेत आगलागी हुँदा गडाइ महतोको कच्ची भान्सा घर, गोठ र नारायण महतोको घर जलेर करीब ५ लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

