डुबेर मृत्यु

काठमाडौं, ३१ असार
    काठमाडौं : तारकेश्वर नगरपालिका-११ नेपालटार डेरा गरी बस्ने भारत बनारसकी ३५ वर्षीया अर्चना चौधरीको ९ महिनाको छोरा अथर्व चौधरीको शनिबार पानीमा डुबेर मृत्यु भएको छ । खेल्ने क्रममा पानी राखेको बाटामा डुबेर बेहोश भएका ती बालकको ईशान बाल अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो ।
    नवलपरासी (बर्दघाट सुस्ता पूर्व) : गैंडाकोट नगरपालिका-४ स्थित जयश्री खोलामा पौडी खेल्ने क्रममा शनिबार डुबेर बेहोश भएका चितवन भरतपुर महानगरपालिका-५ तोरीखेत बस्ने प्रदीप गुरुङको ७ वर्षीय छोरा प्रज्वल गुरुङको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
  मोरङ : पथरी शनिश्चरे नगरपालिका-१ स्थित भुल्के सिमसारको पोखरीमा शनिबार पौडी खेल्ने क्रममा डुबेर असक्त भएका सोही स्थान बस्ने ४५ वर्षीय भुपाल धिमालको पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
    यसैगरी मोरङ रतुवामाई नगरपालिका-२ डोरिया घरुचोकस्थित सडकको नालीमा जमेको पानीमा पौडी खेल्ने क्रममा शनिबार डुबेर सोही स्थान बस्ने जितु मियाको ९ वर्षीय छोरा झोरु मियाको मृत्यु भएको छ ।
    सिराहा : लक्ष्मीपुर पतारी गाउँपालिका-४ ब्रहमपुरी बस्ने हरिराम साहको ५ वर्षीय छोरा अजितकुमार साह सोही स्थानमा रहेको बाबाजी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार मृत्यु भएको छ ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।