सवारी दुर्घटनामा मृत्यु

काठमाडौं, ३१ असार
    बाग्लुङ : ढोरपाटन नगरपालिका-१ बुर्तिबाङस्थित सडकमा बुर्तिबाङबाट बुङ्गा दोभानतर्फ जाँदै गरेको ध १ ज २७६२ नम्बरको जिप शनिबार अनियन्त्रित भई सडकबाट अंदाजी २० मिटर तल तमान खोलामा खस्दा जिपमा सवार सोही नगरपालिका-४ बस्ने ६० वर्षीया नन्दकली गैरेको मृत्यु भएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।
    मोरङ : उर्लाबारी नगरपालिका-८ खाईवा चोकस्थित सडकमा उर्लाबारीबाट दुर्गापुरीतर्फ जाँदै गरेको बा.१८ च ३०९७ नम्बरको कारले ज.९ प ७८१८ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिंदा मोटरसाइकल चालक सोही नगरपालिका-८ बस्ने २५ वर्षीय रवि राय र मोटरसाइकलमा सवार सोही स्थान बस्ने २४ वर्षीय श्रीकृष्ण घिमिरे गम्भीर घाइते भएकोमा दमक अस्पतालमा उपचारको क्रममा रवि रायको मृत्यु भएको छ । दुवै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।