प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा ६०औं प्रहरी संचार दिवस २०७५ सम्पन्न
काठमाडौं, १ साउन
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहबीच ६०औं प्रहरी संचार दिवस सम्पन्न भएको छ ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले संचार निर्देशनालयका प्राविधिकद्धारा निर्मित संचार म्यासेन्जर तथा सरुवा व्यवस्थापन सूचना प्रणाली एप्लीकेशनहरुको उदघाटन गर्दै यसबाट संचार क्षेत्रमा हुने काम कारवाहीमा थप गोपनियता तथा पारदर्शिता हुने विश्वास व्यक्त गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले प्रहरी कार्यमा सूचना तथा संचार प्रविधिको आवश्यकता तथा महत्चबारे चर्चा गर्दै प्रहरी कार्यमा सूचनाको अभावमा उत्पन्न हुनसक्ने जटिलता न्यूनिकरण गर्न संचार प्रविधिको आवश्यकता, यसको प्रयोग र विकासको अपरिहार्यता रहेको बताउनुभयो ।
नेपाल प्रहरीले सूचना तथा संचार प्रविधिलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिँदै उहाँले प्रहरी कर्मचारीहरुले प्राप्त साधन स्रोतलाई उच्चतम प्रयोग गरी सांगठनिक छवि अभिवृद्धि गर्न व्यावसायिक निष्ठा, पारदर्शिता एवं ईमान्दारिताका साथ आफ्नोे जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो ।
समारोहमा संचार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डा. राजिव सुब्बाले स्वागत मन्तव्य तथा नेपाल प्रहरीको संचार प्रणाली आधुनिकरण तथा सुढ्ढीकरण सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।
उक्त अवसरमा संचार निर्देशनालयका प्राविधिकद्धारा निर्मित संचार एप्लीकेशनहरुको बारेमा प्रहरी निरीक्षक ई. अरेन्द्रप्रसाद सिंहले जानकारी दिनुभएको थियो ।
प्रहरी महानिरीक्षक खनाल र मातहत विभिन्न कार्यालयका संचार ईन्चार्जहरुबीच अन्तरक्रिया समेत भएको उक्त कार्यक्रममा नेपाल प्रहरी अस्पतालका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

