पेस्तोल, गोली र नियन्त्रित लागूऔषध सहित पक्राउ

मोरङ, ३ साउन
     मेड इन यूएसए लेखिएको स्वचालित पेस्तोल १ थान, त्यसको गोली ३ राउण्ड र नियन्त्रित लागूऔषधसहित ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका-९ मा डेरा गरि बस्ने मोरङ बेलबारी  नगरपालिका-७ घर भएका ३३ वर्षीय संजय चौधरी भन्ने सूर्य नारायण चौधरी, मोरङ सुन्दरहरैचा नगरपालिका -२ बस्ने २० वर्षीय  राज चौधरी र सुनसरी दुहवी नगरपालिका-२ बस्ने २७ वर्षीय मोहमद अलाउदीन रहेका छन् ।
    मोरङ बिराटनगर महानगरपालिका-७ स्थित मोरङ जिल्ला अदालतको गेट बाहिर शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा मंरगलबार प्रहरीले सूर्य नारायण र राजको शरिर तलासी लिदा सूर्य नारायणको साथबाट ३० चक्की नाईट्रोसन र राजको साथबाट २० चक्की नाईट्राभेट गरी जम्मा ५० चक्की नियन्त्रित लागूऔषध बरामद भएपछि थप अनुसन्धानको क्रममा सूर्य नारायणको घरमा तलासी लिँदा बुधबार उक्त  हतियार समेत बरामद भएको थियो ।
    साथै प्रारम्भिक अनुसन्धानकै क्रममा उक्त पेस्तोल सूर्य नारायण चौधरीले मोहमदको साथमा भारत गई खरिद गरी ल्याएको बुझिएकोले मोहमदलाई समेत मोरङ बुढीगंगा गाउँपालिका-४ बाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।