लागूऔषध तथा विभिन्न हातहतियार सहित पक्राउ

झापा, २४ असोज
    मेचीनगर नगरपालिका-६ बस्ने ३८ वर्षीय बिशाल लिम्बु र ३२ वर्षीय अनुप उराउलाई लागूऔषध तथा विभिन्न हातहतियार सहित प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित शंकास्पद रुपमा फेला परेको डब्लु बि ७४ जेड ७००१ नम्बरको गाडी जाँच गर्दा उक्त गाडी भित्र १ सय एमएल को ESKUF लेखिएको लागूऔषध २ बोतल र नाईट्रोशन १० लेखिएको लागूऔषध १२ चक्की फेला पारी  बिशाल र अनुपलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा बिशालको घरमा प्रहरीले तलासी गर्दा अवैध लागूऔषध चरेश १ किलो ५ सय ग्राम, १ सय एमएलको ESKUF लेखिएको खाली वोतल २ थान,  बिष्फोटक पदार्थ डिटोनेटर लोला ९ थान,  बिष्फोटक पदार्थ पड्काउने फ्युज केप तार सहित ४० थान, नक्कली पेस्तोल १ थान, सानो पेस्तोलमा फिट हुने फलामको सक्कली म्यागजिन १ थान, बारुद ४ सय ४० ग्राम, मोबाइल २ थान, कर्डलेश फोन १ थान, नक्कली सुन जस्तो देखिने औठी १ थान, नक्कली सुन जस्तो देखिने घडीको चेन १ थान, आर्मी कलरको कम्व्याट झोला २ थान, संघीय लिम्बुवान राज्य परिषद लेखिएको सम्मानपत्र १ थान, प्रशिक्षण कदरपत्र, सोही परिषदको आर्थिक सहयोग सम्बन्धमा लेखिएको पत्र, विभिन्न प्रकारका स्टाम छाप लगायतको सामान बरामद गरेको छ ।
बिशालकी श्रीमती ३२ वर्षीया नम्रता राईलाई समेत नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।