प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट Traffic Riders' Squad परिचालनको शुभारम्भ

काठमाडौं, २४ असोज
    उपत्यकाको ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने मुख्य उद्देश्यका साथ बुधबारबाट Traffic Riders' Squad (TRS) परिचालन भएको छ ।
    महानगरीय ट्राफिक प्रहरी महाशाखामा बुधबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उक्त TRS परिचालनको शुभारम्भ गर्दै ट्राफिक प्रहरी र जनपद प्रहरीले एक आपसमा समन्वय गरी ट्राफिक व्यवस्थापनलाई थप चुस्त र प्रभावकारी बनाउन उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
    ट्राफिक नियम उल्लंघन गर्नेलाई ट्राफिक प्रचलित कानून अनुसार कसूरको आधारमा मात्र कारवाही गर्न उपस्थित प्रहरी कर्मचारीलाई निर्देशन दिदै उहाँले आफ्नो व्यवहार, बोली वचन एवं कार्यशैलीको उत्कृष्ट प्रर्दशन गर्नुपर्ने समेत बताउनुभयो । कुनै पनि स्थानमा घटना भएको खबर प्राप्त हुनसाथ तत्कालै पुगि TRS मा खटिएका प्रहरीले आफ्नो दक्षता र क्षमताको उच्च प्रर्दशन गरी इमान्दारिता र लगनशिलताका साथ दिएको जिम्मेवारी निर्वाह गर्न समेत सोही अवसरमा उहाँले निर्देशन दिनुभयो ।
    कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुमार पन्तले TRS सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै सडक दुर्घटना न्यूनिकरण गर्नुका साथै शान्ति सुरक्षामा खलल पार्ने घटना र क्रियाकलापहरु नियन्त्रण गरी प्रभावकारी प्रहरी सेवा अभिबृद्धि गर्न  TRS परिचालन भएको जानकारी दिनुभयो ।
    उपत्यकाको ३ जिल्लालाई १० वटा सेक्टरमा विभाजन गरी ५५ वटा मोटरसाइकलमा ट्राफिक प्रहरी र जनपद प्रहरीको संयुक्तरुपमा उक्त TRS निरन्तर परिचालन हुने सो महाशाखाले जनाएको छ । जसअन्तर्गत काठमाडौंमा ६ वटा सेक्टर तथा ललितपुर र भक्तपुरमा २-२ वटा सेक्टर रहनेछन् ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक मनोज नेउपाने, संचारकर्मी लगायत अन्य प्रहरी वरिष्ठ अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।