लागूऔषध सहित पक्राउ

काठमाडौं,२१ मङ्सिर
    काठमाडौं महानगरपालिका-१५ स्वयम्भुबाट अवैध लागूऔषध खैरो हेरोइन ११ ग्राम सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाँके कोहलपुर नगरपालिका-८ बस्ने २३ वर्षीया सरिता थापा पौडेल र डडेल्धुरा गन्यापधुरा गाउँपालिका-५ बस्ने २९ वर्षीय तेजराज रोस्यारा रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं चन्द्रागिरी नगरपालिका-२ देउराली स्थितमा जाँचको क्रममा अबैध लागूऔषध १० केजि ४ सय ग्राम चरेश सहित पैदलयात्री धादिङ गजुरी गाउँपालिका-८ का ३१ वर्षीय  कमल तामाङलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले तामाङको साथमा रहेको झोलाबाट उक्त लागूऔषध बरामद गरेको हो ।
बारा जितपुरसिमरा उपमहानगरपालिका-३ रामवनबाट लागूऔषध डाईजेल्याव ईन्जेक्सन १ सय ५० थान, फेनार्गन ईन्जेक्सन १ सय ५० थान र नुर्फिन ईन्जेक्सन १ सय ५० थान सहित बिहीबार २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा बीरगंज महानगरपालिका-३२ बस्ने ५० वर्षीय नैमदिन अन्सारी र काठमाडौं महानगरपालिका-१२ बस्ने १९ वर्षीय लाक्पा शेर्पा रहेका छन् । ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले उनीहरुले शरिरका बिभिन्न भागमा लुकाई छिपाई काठमाडौंतर्फ लैजादै गरेको अवस्थामा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।