समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत विद्यालय सम्पर्क कार्यक्रम सम्पन्न

सर्लाही, २७ पुस
    मलंगवा नगरपालिका-१० स्थित जानकी पार्टी प्यालेसमा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत विद्यालय सम्पर्क कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
    उक्त कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता/सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले साईबर अपराध, लागूऔषध लगायतका सामाजिक अपराध सम्बन्धी प्रशिक्षण दिनुभयो । शान्ति सुरक्षाको सन्दर्भमा समाज तथा विद्यालयको भूमिका बारेमा समेत उहाँले जानकारी दिनुभएको थियो ।  
     सो अवसरमा प्याब्सनका जिल्ला अध्यक्ष, विभिन्न विद्यालयका विद्यार्थी, स्थानीय जनप्रतिनिधिहरु, बुद्धिजिवी र भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।
यसैगरी सर्लाही हरिवन नगरपालिका-११ स्थित सनराईज ईङलिस बोर्डिङ स्कुलमा समेत समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत बिहीबार विद्यालय सम्पर्क कार्यक्रम सम्पन्न भएको छ ।
    कार्यक्रममा प्रहरी प्रधान कार्यलयका प्रहरी उपरीक्षक सविन प्रधानले प्रहरी प्रधान कार्यालयबाट  निर्माण गरी वितरण गरिएको समुदाय-प्रहरी साझेदारी अवधारणाको पाठ योजना र उद्देश्यबारे  प्रस्तुतीकरण गर्नुभएको थियो ।
    कार्यक्रममा विद्यालयका प्रिन्सिपल, शिक्षक, अभिभावक लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।