प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशीबाट Traffic Communication App को उदघाटन

काठमाडौं, २७  माघ
प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयका प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशीले नागढुङगामा आइतबार आयोजित एक कार्यक्रम वीच Traffic Communication App को उदघाटन गर्नुभयो ।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक जोशीले सवारी दुर्घटना हुनुमा सवारी चालकको पनि जिम्मेवारी रहेको बताउँदै यसलाई निराकरण गर्न यस App मार्फत चालक परिवर्तन भएको/ नभएको जानकारी लिन सकिने बताउनुभयो । प्रत्येक व्यक्ति तथा सवारी चालकले ट्राफिक नियमको पालाना गरेमा सवारी दुर्घटना न्यूनिकारण हुने समेत उहाँले बताउनुभयो ।
प्रत्येक यात्रुबाहक बसमा दुई चालक अनिवार्य भएको कानूनी व्यवस्थालाई सुनिश्चता गर्ने र मेन्युल टाइम कार्डलाई विस्थापित गर्दै यस App संचालन गरिएको जानकारी दिँदै प्रहरी नायव महानिरीक्षक जोशीले यस App मार्फत हुने डाटा इन्ट्री अपडेटबाट अपराध अनुसन्धानमा पनि  सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुमार लामा,  महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त पन्त र चन्द्रागिरी नगरपालिका-२ का वडा अध्यक्ष गोपी सुरखेतीले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयका प्रहरी नायव उपरीक्षक कृष्ण धितालले प्रतिवेदन प्रस्तुत गर्दै शुन्य लागतमा निर्माण भएको उक्त App सवारी दुर्घटना न्यूनिकरण तथा प्रभावकारी ट्राफिक व्यवस्थापन प्रयोजनार्थ सुरक्षित यात्राको लागि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्था अनुरुप लामो दुरीमा संचालन हुने यात्रुबाहक सार्बजनिक सवारी साधनमा अनिवार्य २ (दुई) जना सवारी चालकहरु व्यवस्था गरि चालक बदली गर्नुपर्ने सन्दर्भमा ट्राफिक प्रहरीले चालक बदली भए/नभएको चेकजाँच तथा एकिन गरी व्यवस्थित तवरले कार्यान्वयन गर्न गराउन App संचालनमा ल्याइएको जानकारी समेत दिनुभयो ।
साथै उक्त App प्रयोगकर्ताले GPS Location पनि थाहा पाउन सक्ने यो App मा चालकको लाईसेन्स नम्बर, टाइम कार्ड  समेत चेक गर्ने सुविधा रहेको छ भने प्रभावकारी सवारी व्यवस्थापन तथा सुरक्षित गन्तव्यका लागि यस App मा Traffic message broadcasting गर्ने व्यवस्था समेत गरिएको छ ।
पहिलो चरणमा प्रदेश नं. ३ काठमाडौंको नागढुङ्गा,  प्रदेश नं.२ अन्तर्गत सर्लाहीको कर्मैया, सप्तरीको शम्भुनाथ नगरापलिका-३ शम्भुनाथ र  प्रदेश नं. ५ अन्तर्गतको नवलपरासी(पश्चिम) सुनुवल नगरपालिका-१२ भुमही र बाँकेको कोहलपुरमा उक्त App संचालन गरिएको छ । App को प्रयोगबाट लामो दूरिमा चल्ने सवारी साधनमा चालक परिबर्तन भए /नभएको पत्ता लगाउन सकिन्छ र त्यसका लागि कुनै एक निश्चित बिन्दुमा सवारी चालकको फोटो खिचि सवारी साधनको नम्बर, प्रस्थान तथा गन्तव्य स्थान दर्ता गरि इन्टरनेटको सर्भरमा राखिन्छ । ट्राफिक प्रहरीहरुले चेकिङ पोईन्टहरुमा चेकजाँचको क्रममा चालकको फोटो र अनुहार जाँच तथा बिवरणको आधारमा चालक बदली भए /नभएको सहज रुपमा पत्ता लगाउन सकनेछन् ।
उक्त App ओराकल कम्पनीको जाभा प्रोग्रामिङ ल्वाङ्गेजको एन्ड्रोईड भर्सनमा विकास गरिएको हो । यसका लागि आवश्यक पर्ने Google Server को firebase platform रहेको छ । यो App प्रयोगका लागि Android Version 6 वा सो भन्दा माथिको मोबाईल फोन र इन्टरनेटको लागि मोबाईल डाटा वा कम्तिमा 1 mbps वाईफाई सुविधा हुनु पर्दछ ।