सवारी दुर्घटनामा मृत्यु

काठमाडौं, २८ माघ
    काठमाडौं, सुनसरी, कञ्चनपुर र उदयपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
    काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित सडकमा बा.३ ख ७०५७ नम्बरको बसले पैदलयात्री काठमाडौं गैरिगाउँ डेरा गरी बस्ने सोलुखुम्बु बासा गाउँपालिका-९ घर भएको ४६ वर्षीय पदमबहादुर कार्कीलाई सोमबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भई केएमसी अस्पताल सिनामंगल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
    सुनसरी, रामधुनी नगरपालिका-४ बैठार चोकस्थित सडकमा बा.५५ प ६४३ नम्बरको मोटरसाइकलले को.२ प ४९७५ नम्बरको स्कुटीलाई आइतबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटी चालक सोही नगरपालिका बस्ने ३५ वर्षीय कृष्ण परियारको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका बस्ने २० वर्षीय संजय चौधरी र मोटरसाइकलमा सवार २० वर्षीय भुबन चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
    कञ्चनपुर, कृष्णपुर नगरपालिका-७ कलुवापुरस्थित सडकमा से.४ प ९६०७ नम्बरको मोटरसाइकलबाट आइतबार राति लडेर गम्भीर घाइते भएका चालक सोही नगरपालिका-७ बस्ने १८ वर्षीय नबिन पाण्डेको सेती अञ्चल अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ ।
    उदयपुर, कटारी नगरपालिका-५ सिसाघारीस्थित सडकमा ना.५ ख ३८८४ नम्बरको बसका सहचालक उदयपुरगढी गाउँपालिका-३ बस्ने २१ वर्षीय रोशन कार्कीको सडकमा रहेको बिजुलीको पोलमा च्यापिएर आइतबार राति मृत्यु भएको छ । बिपरीत दिशाबाट आएको मोटरसाइकललाई बसले साईड दिने क्रममा बसको ढोकामा बसेका कार्की साईडमा रहेको बिजुलीको
पोलमा च्यापिएर गम्भीर घाइते भएकाले उपचारको लागि कटारी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो ।  बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।