प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र पूर्व प्रहरी कर्मचारीहरुबीच भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम

झापा, ३० फागुन
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र झापा जिल्लास्थित पूर्व प्रहरी कर्मचारीहरुबीच बिहीबार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।  
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पूर्व प्रहरी कर्मचारीहरुका समस्या तथा हितका सन्दर्भ र उहाँहरुले प्रस्तुत गरेका विभिन्न विषयमा आफू गम्भीर रहेको बताउनुभयो । यसको समाधानका लागि संगठनले उचित निर्णय र पहलकदमी लिने उहाँले उल्लेख गर्नुभयो । नेपाल प्रहरीले सुरु गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रमलाई आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याई अपराध न्यूनिकरण र अपराधीलाई कानुनी दायरामा ल्याउने कार्यमा सहयोग गर्न पूर्व प्रहरी कर्मचारीहरुलाई उहाँले अनुरोध गर्नुभयो ।
भेटघाटका अवसरमा झापा जिल्लास्थित पूर्व प्रहरी कर्मचारीहरुले आफ्ना समस्या राख्दै प्रहरी संगठन र राष्ट्रका लागि आफूहरुले दिन सक्ने सहयोग प्रदान गर्न आफूहरु प्रतिबद्ध रहेको जानकारी गराउनुभएको थियो ।