समुदाय-प्रहरी साझेदारी अन्तर्गत छलफल तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं, १ जेठ
    महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीको प्रमुख आतिथ्यमा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत नगर र वडा स्तरीय समन्वय समितिका पदाधिकारीहरुसँग छलफल तथा अभीमुखिकरण कार्यक्रम गोकर्णेश्वर नगरपालिकामा बुधबार सम्पन्न भएको छ ।
    कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले नागरिकले शान्त र सुरक्षित समाजको परिकल्पना गरेको हुने चर्चा गर्दै यस्तो समाज निर्माणको लागि समुदाय-प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । अपराध न्यूनिकरण गर्न नागरिकको ठूलो भूमिका रहेको चर्चा गर्दै उहाँले उक्त कार्यक्रम मार्फत प्रहरीलाई आपराधिक कार्यको सूचना दिन नागरिकलाई आग्रह समेत गर्नुभयो । सामाजिक संजालको दुरुपयोगबाट अपराध बढेको उल्लेख गर्दै प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले यसको सही रुपमा प्रयोग गर्नु पर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे र उपप्रमुख शान्ति नेपालले समुदाय-प्रहरी साझेदारी कार्यक्रमको प्रयोग र महत्वबारे आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।  
महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले वृत्तका कार्य प्रगती विवरण तथा समुदाय-प्रहरी साझेदारी कार्यक्रम शुभारम्भ भए पश्चात् वृत्तबाट शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणका लागि भएका कार्यक्रमबारे प्रस्तुतीकरण गर्नुभएको   थियो ।
गोकर्णेश्वर नगरपालिका-८ का अध्यक्ष मनोज ढुङ्गनाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा स्थानीय निकायका पदाधिकारीहरु, समुदाय-प्रहरी साझेदारी अन्तर्गत पालिका तथा वडा स्तरीय पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
साथै महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीको प्रमुख आतिथ्यमा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत पर्यटक सम्बन्धि अन्तरक्रिया कार्यक्रम बुधबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न भएको छ ।
पर्यटन विभाग, पर्यटक प्रहरी इकाई भृकुटीमण्डपको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा संचालित कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० र पर्यटन सुरक्षामा सरोकारवाला निकायहरुको भूमिकाबारे छलफल भएको थियो ।