हतियारधारी समूहले एक्कासि फायर गर्दा प्रहरी जवान सहित दुई जनाको मृत्यु

भोजपुर, २५ असार
  भोजपुर नगरपालिका-७ स्थित हटियालाईनमा हतियार सहित केही व्यक्तिहरु लुकीछिपी बसेको सूचनाको आधारमा बुधबार बिहान अनुसन्धानमा खटिएको प्रहरीमाथि हतियारधारी समूहले एक्कासि फायर गर्दा एक जना प्रहरी जवान घाइते भएपछि प्रहरीले समेत जवाफी फायर गर्दा घाइते भएका प्रहरी जवान सहित २ जनाको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान संजिव राई र हतियारधारी समूहका करिब ३५ वर्षीय निर कुमार राई छन् । मृतक निर कुमारको साथबाट ठुलो चाइनिज पेस्तोल १ थान, त्यसको म्याग्जिन १ थान र उक्त पेस्तोलमा लाग्ने गोली ६ राउण्ड बरामद भएको छ ।
घटनामा अन्य २ जना प्रहरी जवान समेत घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।
उक्त समूहका अन्य ४/५ जना व्यक्तिहरु भागी फरार भएका छन् । फरार व्यक्तिहरुको खोजतलास गर्नुका साथै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।