ईलाका प्रहरी कार्यालय रानीको कार्यालय भवन तथा आवास गृह भवन शिलान्यास

मोरङ, २७ साउन
    १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले जिल्ला प्रहरी कार्यालय मोरङ मातहत ईलाका प्रहरी कार्यालय रानीको हाताभित्र निर्माण हुने प्रहरी कार्यालय भवन तथा आवास गृह भवनको सोमबार आयोजित एक कार्यक्रमवीच शिलान्यास गर्नुभयो ।
    सो अवसरमा प्रहरी नायव महानिरीक्षक ज्ञवालीले भवन मात्र नभई भवनबाट प्रवाह हुने सेवा र गुणस्तरको महत्व बढी हुने हुँदा यसवाट प्रवाह हुने सेवाको स्तरमा पनि बृद्धि गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । तोकिएकै समय र मापदण्ड अनुसार निर्माण कार्य सम्पन्न हुनेमा आफू बिश्वस्त रहेको उहाँले बताउनुभयो ।   
    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले धन्यवाद ज्ञापन गर्दै समाजमा शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन प्रहरीलाई पनि समयानुकूल प्रबिधियुक्त र सुबिधा सम्पन्न बनाउनुको बिकल्प नरहेको उल्लेख गर्नुभयो ।
    प्रहरी प्रधान कार्यालयद्वारा UNOPS को सहयोगमा ५ कठ्ठा १० धुर क्षेत्रफलमा कूल ७ करोडको लागतमा सुबिधा सम्पन्न कार्यालय भवन तथा आवास गृहको निर्माण हुन लागेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
    शिलान्यास कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय नागरिक, समाजसेवी, ब्यापारी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।