अन्तर्राष्ट्रिय एड्स विरुद्धको दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय मोरङ सम्मानित

मोरङ, १६ मंसिर
   ३१औं अन्तराष्ट्रिय एड्स बिरूद्धको दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङ सम्मानित भएको छ । एचआइभी एड्स संक्रमण, न्यूनीकरण तथा रोकथामको लागि विगत १ वर्षभन्दा बढी समयदेखि लागूऔषध बिरूद्धको अभियान संचालन गर्दै महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उक्त कार्यालयलाई अभियानको उच्च मुल्याङ्कन गर्दै सम्मानपत्र प्रदान गरिएको हो ।
कार्यक्रममा १ नम्बर प्रदेशका सामाजिक बिकासमन्त्री जीवन घिमिरेले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलाई सम्मानपत्र प्रदान गर्नुभयो । साथै एविसी नेपाल, एचआइभी कार्यरत संघसंस्थाहरूको संजाललाई समेत एड्स बिरूद्धको कार्यक्रममा उच्च योगदानका लागि सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा सामाजिक बिकासमन्त्री घिमिरे लगायतका अतिथिहरुले एड्स बिरूद्धको अभियानको सफलताको शुभकामना दिदै सरकारी तथा सरोकारवाला निकायहरू मिलेर जनचेतनामूलक कार्यक्रम मार्फत यसलाई रोकथाम तथा न्यूनीकरण गर्दै लैजानुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।  
१ नम्बर प्रदेश सामाजिक बिकास मन्त्रालय र जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा विराटनगर देवकोटा चोकबाट शुरु भएको प्रभातफेरी हनुमान मन्दिर नजिकैको प्राङगणमा सभामा परिणत भएको थियो । कार्यक्रममा एविसी नेपाल, विश्व सेवा बिस्तार, माईती नेपाल, एचआइभी कार्यरत संघसंस्थाहरूको संजाल मोरङ लगायतका संस्थाका पदाधिकारीहरू, क्यान सेन्टरका पदाधिकारीहरू, बिद्यार्थी लगायत प्रहरी कर्मचारीहरू समेत उपस्थिति रहेको थियो ।