अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २०७७ असार २० गते
    सुनसरी, धरान उपमहानगरपालिका-७ डेरा गरी बस्ने ४४ वर्षीय किसन श्रेष्ठलाई नियन्त्रित लागूऔषध एकसय एमएलको डाइलेजेक्स डिसी ६ बोतल, स्यास्मो प्रोक्सिभन ५ सय ५२ क्याप्सुल, नाइट्राजेपाम २ सय ६० ट्याबलेट, नगद १ लाख ९२ हजार रुपैयाँ र सर्टगन जस्तो देखिने काठमा फलाम जोडेको वस्तु १ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले आफ्नो कोठामा लुकाइछिपाइ लागूऔषध बेचेको भन्ने खबर प्राप्त हुनासाथ १ नम्बर प्रदेश अनुसन्धान ब्यूरो टोली र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी श्रेष्ठलाई पक्राउ गरेको हो ।
    मकवानपुर, मनहरी गाउँपालिका-६ लोथरस्थित खोलाको बगरबाट अवैध लागूऔषध गाँजा करिब ७० केजी सहित चितवन राप्ती नगरपालिका-११ बस्ने ३५ वर्षीय शिवलाल तामाङलाई गएराति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागूऔषध ल्याउँदै गरेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ अन्दाजी ६ जनाको समूहमा आएका मानिसहरु लागूऔषध गाँजा छाडी भाग्ने क्रममा तामाङलाई प्रहरीले पक्राउ गरेको हो । अन्य फरार रहेको व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।
    यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा १ सय २८ केजी सहित बारा जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने २७ वर्षीय यमा मल हक देवान र २४ वर्षीय मेहबान अंसारीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना.६ ख ६९७४ नम्बरको तेलको ट्याङ्कर जाँच गर्दा तेल राख्ने चेम्बरमा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी ट्याङ्कर चालक निज देवान र सोही ट्याङ्करमा सवार अंसारीलाई पक्राउ गरेको हो ।
    झापा, दमक नगरपालिका-५ डेरा गरी बस्ने ताप्लेजुङ आठराई त्रिबेणी घर भएकी २२ वर्षीया सम्झना राई श्रेष्ठ सहित ३ जनालाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु १७ ग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा चुरोटको बट्टामा लुकाई राखेको उक्त परिमाणको वस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
    कास्की, पोखरा महानगरपालिका-२६ राखीडाँडा बस्ने २५ वर्षीय सूर्य बिकलाई अवैध लागूऔषध गाँजा ४ केजी ७५ ग्राम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।