नियन्त्रित लागूऔषध सहित पक्राउ

काठमाडौं, २०७७ साउन १६ गते
    मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ लच्काबाट नियन्त्रित लागूऔषध १ सय ९३ एम्पुल डाइजेपाम, १ सय ८५ एम्पुल फेनारागन र २ सय ३ एम्पुल नुर्फिन सहित सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश नेपाललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ग.१ च २८१७ नम्बरको पिकअप ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालकको सिटमुनी लुकाइछिपाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित पिकअपमा सवार नेपाललाई पक्राउ गरेको हो । साथै पिकअप चालक हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।
    महोत्तरी, जलेश्वर नगरपालिका-३ छ्ड्की बाँधबाट नियन्त्रित लागूऔषध २० थान एक्सीप्लोन कपसिरफ सहित भारत बिहारका २५ वर्षीय कृष्णा दासलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भिट्टामोडबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका उनलाई शंका लागि जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।