कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

कञ्चनपुर,  २०७७ फागुन ११ गते
    आफ्नै श्रीमान २९ वर्षीय ओम बहादुर चौधरीको फरुवा प्रहार गरी हत्या गरेको अभियोगमा बेलौरी नगरपालिका-६ भुराकोट बस्ने २७ वर्षीया बसन्ती चौधरीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । बसन्तीले फरुवा प्रहार गरी आफ्नै घरमा श्रीमानलाई मारेको भनी आफै जानकारी गराए पश्चात ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
    यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-२ पशुपति टोल बस्ने ७६ वर्षीय प्रेम थापाको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उनकै बुहारी ३५ वर्षीया सीता थापा र १८ वर्षीय किशोर रहेका छन् । उनीहरुले घरायसी बिबादका कारण गत माघ २८ गते साँझ प्रेमलाई कुटपिट गरी कसैलाई जानकारी नगराई उपचारको लागि महाकाली अस्पताल ल्याई उपचार पश्चात घर लगेकोमा पुन: स्वास्थ्यमा समस्या आएपछि महाकाली अस्पताल ल्याएकोमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरु दुवै जनालाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।