प्रहरीमाथि ढुङ्गा प्रहार गरेको अभियोगमा ३ जना पक्राउ

पर्सा, २०७८ जेठ ४ गते
  वीरगंज महानगरपालिका-२२ जगरनाथपुर चोकमा ड्उटीमा खटिएको प्रहरीमाथि ढुङ्गा प्रहार गरेको अभियोगमा ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३५ वर्षीय सुरेन्द्र साह, ३५ वर्षीय राजेन्द्र यादव र ३५ वर्षीय राजन यादव रहेका छन् ।
उक्त चोकमा सोही ठाउँ बस्ने ४० वर्षीय मोहम्मद अकवर र मोहम्मद उसमानलाई मोटरसाइकलले ठक्कर दिएको बिषयलाई लिएर सोही ठाउँ बस्ने पर्मा यादव र उमर यादवले कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले पर्मा र उमरलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका दुवै जनालाई स्थानीयले प्रहरीबाट खोसी भगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी परवानीपुर र प्रहरी चौकी गण्डक समेतबाट खटिएको प्रहरीले घटनाबारे जानकारी लिने क्रममा स्थानीयले प्रहरीमाथि नै ढुङगा प्रहार गर्दा १ जना प्रहरी जवान सामान्य घाइते भएका छन् । उनलाई उपचारको लागि नारायणी अस्पताल वीरगंजमा पठाइएको छ । ढुङ्गा प्रहारबाट प्रहरी चौकी परवानीपुरको ना.१ झ ५६९ नम्बरको गाडीको पछाडीको शिसा फुटेर क्षति भएको छ । कुटपिटबाट घाइते भएका मोहम्मद उसमानको सोही अस्पतालमा उपचार भइरहेको छ ।
स्थितिलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।