अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २०७८ साउन १० गते
  काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब २ किलो ९ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने गाँजाको खैरो धुलो पदार्थ सहित धादिङ गजुरी नगरपालिका-९ बस्ने ५५ वर्षीय सूर्य बहादुर तमाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५०२४ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनको झोलाबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजाको धुलो सहित धादिङ धार्के गाउँपालिका-१ बस्ने १६ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख १५९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनको साथबाट उक्त गाँजाको धुलो सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।