बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २०७८ भदौ २९ गते
 बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-९ गोल्फुटार बस्ने बारा जितपुर सिमरा उपमहानगरपालिका-१४ स्थायी घर भएका २६ वर्षीय अनिस सुन्दासलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत ललितपुरको २०७७ चैत ८ गतेको फैसलाले ७ दिन कैद र ७ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सुन्दरीजलमा फेला पारी पक्राउ गरेको हो ।
अनिसले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितहरूलाई झुक्यानमा पारी लक्ष्मी बैंकको चेक दिएर बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उनलाई उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।