बिमान दुर्घटनामा चालक र सह–चालक घाइते
हुम्ला, २० साउन
सिमिकोटबाट सुर्खेतको लागि उडेको मकालु एयरलाईन्सको सिङगल इन्जिनको बिमान बिहिबार खार्पुनाथ–३ कुरिलास्थित कर्णाली नदीमा खसेर दुर्घटना भएको छ ।
दुर्घटनामा बिमान चालक क्याप्टेन काठमाडौं जोरपाटी–५ बस्ने २९ वर्षीय साङ्गेल लामा र सह–चालक दाङ तुलसीपुर–११ बस्ने २५ वर्षीय प्रशान्त शाह घाइते भएका छन् । चालक लामाको बायाँ खु्ट्टामा र सह–चालक शाहको ढाडमा चोट लागेको छ । हाल दुबैको अवस्था बोल्न सक्ने रहेको छ । घाइते दुबैजनालाई सिम्रिक एयरको हेलिकप्टरद्वारा जिल्ला अस्पताल हुम्ला लगि उपचार भइरहेको छ । बिमानमा २ जना मात्र भएको बुझिएको छ ।
दुर्घटनाको खबर प्रहरी चौकी याङचुमा प्राप्त हुनासाथ उक्त चौकी र जिल्ला प्रहरी कार्यालय समेतबाट प्रहरी टोली खटी गई उद्धार एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।

