अष्ट्रेलिया क्रुजमा जागिर लगाइदिने भनी ठगी गर्ने फरार प्रतिवादी पक्राउ
काठमाडौं, २१ साउन
अष्ट्रेलिया क्रुजमा जागिर लगाइदिने भनी अनलाईन बिज्ञापन गरी ठगी गर्ने फरार प्रतिवादी ललितपुर उपमहानगरपालिका–१४ नख्खीपोट बस्ने २८ वर्षीय राजन गुरुङ्गलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले ललितपुर नख्खीपोटबाट शुक्रबार पक्राउ गरेको छ ।
वैदेशिक रोजगार कसूर सम्बन्धी ४ वटा मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०७२ माघ ६ गतेको फैसलाले गुरुङ्गलाई कुल ६ बर्ष ९ महिना कैद र ६ लाख ७५ हजार रुपैयाँ जरीवाना भएकोमा कैद तथा जरिवाना वेरुजु रही फरार रहेका थिए ।
गुरुङ्ग समेतका ब्यक्तिहरुले वैदेशिक रोजगार संचालन गर्ने ईजाजत बिना नै इन्टेल हब एजुकेशन फाउण्डेसन नामक संस्थाबाट हाम्रोबजार डट कम वेवसाइटमा बिज्ञापन गरी म्याग्दी बरजङ्ग गाबिस–९ बस्ने तेजबहादुर कार्कीसमेत १० जनालाई २०७० साल असोजमा अष्ट्रेलिया जाने पानीजहाजमा सिपम्यानको काम लगाइदिन्छु भनी नक्कली भिसा लेटर सहितका कागजपत्रहरु तयार गरी भारतको बैङ्गलोर र फिलिपिन्समा तालिम लिनुपर्छ भन्दै बैङ्गलोर र फिलिपिन्स पु¥याई पीडितहरुसँग ७६ लाख ६८ हजार ९ सय ९७ रुपैयाँ संकलन गरी सम्पर्क बिहिन भएपछि अलपत्र परेका पीडितहरु आफ्नै खर्चमा नेपाल फर्की न्यायाधिकरणमा जाहेरी दिएका थिए ।
प्रतिबादी गुरुङ्गलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुर पठाइएको छ ।

