रोटरी क्लबद्वारा विपद व्यवस्थापन सामाग्री हस्तान्तरण

काठमाडौं, २१ साउन
    रोटरी क्लब दरबारमार्ग काठमाडौंद्वारा नेपाल प्रहरीलाई विपद् पश्चात् तत्काल आवश्यक पर्ने सामाग्रीहरु राखिएको ‘अक्वा बक्स’ हस्तान्तरण कार्यक्रम प्रहरी प्रधान कार्यालयमा शुक्रबार सम्पन्न भएको छ ।
    प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई रोटरीका डिस्ट्रिक्ट गभर्नर जया शाहले उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो । Humanitarian Aid for Disaster Relief Partnership Service Project अन्तर्गत १ सय ४० वटा ‘अक्वा बक्स’हरु नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ । उक्त बक्समा विपद् पश्चात् मानिसहरुलाई तत्काल् आवश्यक पर्ने पानी प्रशोधन फिल्टर, साना भाँडाकुडा, केही कपडा, बच्चाहरुका खेलौना, तारपोलिन लगायतमा सामानहरु राखिएको छ ।
    उक्त अवसरमा प्रहरी महानिरीक्षक अर्यालले नेपाल प्रहरी पहिलो उद्धारकर्ता भएर कार्य गरिरहँदा स्रोत साधनको अभाव खड्किरहेको अवस्थामा क्लबद्धारा प्रदान गरिएका सामाग्री अति उपयोगी हुने बताउनुभयो । रोटरी क्लब पनि समाज सेवा गर्ने उद्देश्यसाथ अगाडि बढेको संस्था भएकोले यस क्षेत्रमा मिलेर काम गर्दा सहजता आउने र आगामी दिनमा समेत सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।
    रोटरी क्लबका डिस्ट्रिक्ट गर्भनर शाहले नेपाल प्रहरीसँग विगतदेखि भूकम्प लगायत विपद् व्यवस्थापनका कार्यहरुमा समन्वय र सहकार्य गर्दै आएको बताउनुभयो । साथै उहाँले नेपाल प्रहरीसँग सहकार्य गरेर अप्ठ्यारा ठाउँ र परिस्थितिमा समेत राहत वितरण गर्न सहज भएको बताउँदै आगामी दिनमा समेत सहकार्यको अपेक्षा राखेको उल्लेख गर्नुभयो ।
    कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकहरु, प्रहरी अधिकृतहरु लगायत रोटरी क्लबका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।