आगलागीमा परी मानिस घाइते तथा धनमाल क्षति
काठमाडौं, २२ साउन
भक्तपुर : सुर्यबिनायक नगरपालिका–११ पलासे महतगाउँ बस्ने ३७ वर्षीय सुरेन्द्र महत र उनकी श्रीमती ३३ वर्षीया सुस्मिता महत शुक्रबार आगलागीमा परी घाइते भएका छन् । भान्सामा खाना बनाउने क्रममा ग्याँसबाट आगलागी हुँदा उनीहरु जलेर घाइते भएपछि उपचारको लागि नागरिक अस्पताल गठ्ठाघर हुँदै थप उपचारको लागि शनिबार कीर्तिपुर मोडेल अस्पताल लगिएको छ । दुबैजना बोल्न सक्ने अवस्थामा रहेका छन् ।
काभ्रेपलाञ्चोक : बिर्तादेउराली–२ बस्ने दिनेशलाल पन्तको घरमा बिजुली तारमा करेण्ट सर्ट भई शनिबार आगलागी हुँदा अन्नपात, लत्ताकपडा र नगद ५० हजार रुपैयाँ समेत गरी करीव ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
बाजुरा : गोत्री–७ नाराकोट बस्ने नर बुढा, कालीबहादुर बुढा र जगत भण्डारीको घरमा शनिबार आगलागी हुँदा घर तथा गोठमा रहेका ३ चौपायसमेत जलेर क्षति भएको छ ।
स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिएर प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

