सवारी दुर्घटनामा मृत्यु तथा घाइते

काठमाडौं, २२ साउन
    धादिङ्ग : गजुरी–२ फुर्केखोलास्थित पृथ्वी लोकमार्गमा ना.५ ख ९२०६ नम्बरको ट्रक र ना.३ ख ६२०९ नम्बरको जिप शनिबार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । दुर्घटनामा जिपमा सवार ३ जना घाइते भएकोमा सप्तरी छोचनपुर बस्ने ५२ वर्षीय मणिप्रसाद गुप्ताको गजुरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ भने जिपचालकसमेत २ जनालाई थप उपचारको लागि काठमाडौतर्फ पठाएकोमा चितवन खैरेनी–५ बस्ने २२ वर्षीय सादेश चौधरीको बाटोमै मृत्यु भएको छ । जिपचालक चितवन चैनपुर–२ बस्ने २२ वर्षीय बिबेक रावलको काठमाडौं वीर अस्पतालमा उपचार भइरहेको र अबस्था गम्भीर रहेको छ । दुबै सवारी साधान र ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    तनहुँ : बन्दीपुर नगरपालिका–६ बिमलनगरस्थित पृथ्बी राजमार्गमा बाटो काट्ने क्रममा बा.११ च ९६८२ नम्बरको जीपले शनिबार ठक्कर दिँदा गम्भीर घाइते भएकी गोरखा पालुङटार नगरपालिका–३ च्याङ्ली बस्ने ६ वर्षीय सुमन चेपाङको लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको छ । जीपचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    बाँके : महादेबपुरी–७ ओभारीस्थित सडकमा ना.५ ख ९८७० नम्बरको ट्रक शनिबार पल्टिन जाँदा भएको दुर्घटनामा ट्रकका सह–चालक दाङ तुल्सीपुर बस्ने १८ वर्षीय शंकर पुनको सोही गाडीमा च्यापिएर मृत्यु भएको छ भने ट्रकचालक २८ वर्षीय बिकाश बि.क. घाइते भएका छन । उनलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाइएको र अवस्था गम्भीर रहेको छ ।
    तनहुँ : माझकोट–९ स्थित भित्री सडकमा ग.१ ख ४७८५ नम्बरको बस शुक्रबार दुर्घटना हुँदा बसमा सवार २५ जनामध्ये १७ जना घाइते भएकोमा मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा खदुङ भगवतीपुर–८ बस्ने  २५ वर्षीय हरि परियारको मृत्यु भएको छ । गम्भीर अवस्थामा रहेका अन्य ६ जना घाइतेको सोही अस्पतालमा उपचार भएरहेको छ भने १० जना स्थानिय भिमाद नारायण मेडिकलमा सामान्य उपचार पश्चात घर गएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    रुकुम : मुसिकोट नगरपालिका–८ स्थित मध्य पहाडी लोकमार्गमा लु.१ ज २६८३ नम्बरको जिप शुक्रबार सडकबाट करीव ३ सय मिटर तल खसेर दुर्घटना हुँदा जिप चालकसमेत ६ जना घाइते भएकोमा जिल्ला अस्पताल रुकुममा उपचारको क्रममा मुसिकोट–११ बस्ने २७ वर्षीय टेकबहादुर बि.क. र मेडिकल कलेज नेपालगंजमा मुसिकोट–१० बस्ने २५ वर्षीय तिर्था पुनको मृत्यु भएको छ । अन्य ४ जनाको मेडिकल कलेज नेपालगंजमा थप उपचार भइरहेको छ ।
    दुर्घटनाका सम्बन्धमा प्रहरीबाट उद्धार एवं आवश्यक अनुसन्धान भइरहेको छ ।