हेलिकप्टर दुर्घटनामा सात जनाको मृत्यु

नुवाकोट, २४ साउन
    गोरखा सिर्दिबास–८ फिलिमबाट सुत्केरी महिला र नवजात शिशुसमेत लिएर काठमाडौंको लागि उडेको फिस्टेल एयरको हेलिकप्टर सोमबार नुवाकोट मदनपुर गाबिस–९ स्थित बेतिनीको जंगलमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
    मृत्यु हुनेहरुमा हेलिकप्टरका चालक रञ्जन लिम्बु, गोरखा सिर्दिबास–२ बस्ने ६० वर्षीय कितमान गुरुङ, उनकै श्रीमती ५६ वर्षीया अज्ञानी गुरुङ, १९ वर्षीया प्रीति गुरुङ, उनकै ५ दिनको नवजात शिशु, गोरखा खोर्लाबेसीकी २८ वर्षीया लक्ष्मी गुरुङ र गोरखा सिर्दिबास–२ स्थित फ्रेज नेपाल संस्थामा काम गर्ने ईटहरी घर हुने २२ वर्षीया निशा तामाङ रहेका छन् ।
    उक्त बेतीनीको जंगलमा बिष्फोटको ठूलो आवाज सुनिएको भनि स्थानियबासीले खबर गरे पश्चात केन्द्रीय विपद व्यवस्थापन, प्रहरी चौकी तादी तथा ककनी र जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी उपरीक्षक देवबहादुर बोहोरासमेतको टोली तत्काल घटनास्थलतर्फ खटि गएर उद्धार एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।
    मृतक सबैको शव फिस्टेल एयरद्वारा काठमाडौं शिक्षण अस्पताल पुरयाइएको छ ।