आगलागीबाट धनमाल क्षति
काठमाडौं, २६ साउन
नुवाकोट : पञ्चकन्या गाबिस–१ गौरीथुम डाँडास्थित स्मार्ट टेलिकमको टावरमा मंगलबार आगलागी हुँदा टावरमा जडान गारिएको सोलार १८ थान, १२ भोल्टको ब्याट्री ४८ थान, जेनेटर १ थान र मेसिन समेत जलेर नष्ट भएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।
बारा : मझरीया–९ बस्ने शेषयार मोहमदको गोठमा लामखुट्टे धपाउन बालेको आगो सल्कन गई बुधबार आगलागी हुँदा गोठको आधा भाग र १ चौपाय समेत जलेर करीव १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
सर्लाही : बगदह गाविस–२ बस्ने दिनेश रायको कच्ची घरमा लामखुट्टे धपाउन बालेको आगोबाट मंगलबार आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा लगायतका सरसामान जलेर करीव २ लाख ७ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । आगो निभाउने क्रममा दिनेश राय जलेर सामान्य घाइते भएका छन् ।
रौतहट : चन्द्रपुर नगरपालिका–१२ सन्तपुर बस्ने यज्ञनिधि फुँयालको गोठको भान्छाकोठामा सेल रोटी पकाउने क्रममा बुधबार आगलागी हुँदा गोठमा रहेको अन्नपात, पराल पूर्ण रुपमा जलि नष्ट भई करीव १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिएर स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

