अवैध लागूऔषध सहित मानिसहरु पक्राउ

काठमाडौं, २६ साउन
    लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरले ३ केजी ५४.५ ग्राम अवैध लागूऔषध कोकिनसहित २ जना विदेशी नागरिकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।
    मलेसियन एअरको उडानद्वारा काठमाडौंबाट क्वालालम्पुर हुँदै थाईल्याण्ड जान लागेको अबस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट सुटकेसमा फल्स बटम बनाई लुकाई लैजान लागेको उक्त परिमाणको कोकिनसहित राहदानी नम्बर एए ७१०४११६ बाहक ३२ वर्षीया थाई महिला वारान्या क्युपिकुललाई ब्यूरोले मंगलबार पक्राउ गरेको हो ।
    साउन २१ गते आरए ४०२ मार्फत नेपाल आएकी वारान्या काठमाडौका बिभिन्न होटलमा बस्दै आएको, थाईल्याण्डमा बस्ने नाइजेरीयन मुलका नागरिक रेम्मेले उक्त कोकिनको कारोबार गरेबापत ७० हजार भाट दिने आश्वासन दिएको, सोही बमोजिम उनलाई साउन २३ गते स्पेनिस बोल्ने एकजना बिदेशी महिलाले उक्त कोकिन दिएको प्रारम्भिक सोधपुछका क्रममा खुलेको थियो ।
    तत्काल स्पेनिस बोल्ने महिलाको खोजतलास गर्नेक्रममा राहदानी नम्बर ७७५५१५३ बाहक २९ वर्षीया बोलिभियन महिला रोज्जी गुड्डी टोलेडो भ्यालेजोशलाई ब्यूरोले नक्सालबाट बुधबार पक्राउ गरेको, उनले नै वारान्यालाई उक्त कोकिन सहितको सुटकेश दिएको, रोज्जीलाई कोकिन सहितको सुटकेश बोलिभियाका नागरिक क्लाउडियो नेग्रोले साउन १६ गते बोलिभियामै दिएको र रोज्जीले ३ हजार डलर पाउने प्रलोभनमा उक्त कोकिन बोकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
    बरामद कोकिनको अन्तर्राष्ट्रिय अबैध बजार मुल्य अनुमानित ६ करोड १० लाख ८० हजार रहेको र पक्राउ परेका दुबैजनालाई लागू औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
    सर्लाही : खुटौना गाविस–६ बस्ने २० बर्षीय अजय पासवानलाई प्रहरीले नियन्त्रित लागू औषध नाइट्रोभेट २६ थान सहित पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ साइकलमा आउदै गरेका उनलाई बुधबार प्रहरीले मलगंवा नगरपालिका–८ मा चेकजाँच गर्दा उक्त लागू औषध बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।