आसरा सुधार केन्द्र रानीवारीको अठारौँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं, २६ साउन
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती रोशी अर्यालको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीवारीको १८औँ वार्षिक साधारणसभा बुधबार सोही केन्द्रमा सम्पन्न भएको छ ।
उक्त अवसरमा संघकी अध्यक्ष श्रीमती आर्यालले लागूऔषध दुव्र्यसनविरुद्ध क्रियाशील केन्द्रले विशुद्ध कल्याणकारी र परोपकारी सेवाभावका साथ मन, वचन र कर्मले काम गर्दै समाजमा सकारात्मक परिवर्तनमा समर्पित भएको उल्लेख गर्नुभयो । कुलतमा फसेकाहरुलाई उपयुक्त माध्यमद्वारा उपचार गरी घर, परिवार र समाजमा पुनस्र्थापित गराई सुखद भविष्य निर्माणमा समर्पित केन्द्रलाई थप प्रभावकारी बनाउन र सेवा प्रवाहमा गुणात्मक सुधार गर्न भावी दिनमासमेत निरन्तर लागी पर्ने उहाँले बताउनुभयो ।
केन्द्रकी सचिव श्रीमती रम्भा लामाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको समारोहमा केन्द्रकी कोषाध्यक्ष श्रीमती महिमा शाहले आर्थिक वर्ष २०७२÷०७३ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
विविध विषयमा छलफल र निर्णय गरिएको उक्त साधारणसभामा केन्द्रका कार्यकारिणी समितिका सदस्यहरु, केन्द्रका सल्लाहकारहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु एवम सदस्यहरु, प्रहरी प्रधान कार्यालय अपराध अनुसनधान विभागका प्रमुख प्रहरी अरितरिक्त महानिरीक्षक बिज्ञानराज शर्मा, लागूऔषध नियन्त्रण व्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्द र अन्य प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

