अष्ट ‘ज’ अभियान नेपालद्वारा नेपाल प्रहरीलाई गमला हस्तान्तरण

काठमाडौं, २६ साउन
    गैरसरकारी संस्था अष्ट ‘ज’ अभियान नेपालले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच नेपाल प्रहरीलाई गमला हस्तान्तरण गरेको छ । सो अवसरमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई उक्त अभियानका अध्यक्ष लोककृष्ण भट्टराईले उत्पादनको प्रतीकको रुपमा खुसार्नीको बोटसहितको गमला र शान्तिको प्रतीकको रुपमा फुलको बिरुवासहितको गमला हस्तान्तरण गर्नुभएको हो ।
    उक्त अवसरमा प्रहरी महानिरीक्षक अर्यालले अभियान बारेमा नेपाल प्रहरीलाई पुनः झक्झ्काई दिनुभई चेतना अभिवृद्धि गरिदिएकोमा धन्यवाद ज्ञापन गर्दै अष्ट ‘ज’ बिना मानव जीवन असम्भव भएको र यसैको अभिवृद्धि मार्फत नै जीवन विकास गर्न सकिने बताउनुभयो । नेपाली नागरिक कृषि कार्यप्रति विमुख हुँदै गएको अवस्थामा व्यावसायिक कृषि कार्यमा लगाव सिर्जना गर्ने यस अभियानलाई नेपाल प्रहरीले आवश्यक सहयोग गर्ने उहाँले उल्लेख गर्नुभयो ।
    समारोहमा अष्ट ‘ज’ अभियानका अध्यक्ष भट्टराईले व्यापक जनसम्पर्क र सम्बन्ध भएको नेपाल प्रहरीमार्फत अभियानको सन्देश छिटो सम्प्रेषण गर्न सहयोग हुने विश्वाससहित गमला हस्तान्तरण गरेको बताउनुभयो । साथै अध्यात्म र शान्तिको प्रतीकको रुपमा रहेको अष्ट ‘ज’ को उत्पादनमूलक कार्यमा लाग्न सबैलाई आव्ह्वान गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।
    जल, जमिन, जंगल, जडिबुटी, जलवायु, जनावर, जराजुरी र जनशक्ति लगायतका सम्पदाको सम्बन्ध र स्थिति, पहिचान, संरक्षण, उत्पादन र प्रभावकारी वितरणबाट नेपालको समृद्धि सम्भव छ भन्ने बुझाईसहितको  अभियान नै अष्ट ‘ज’ अभियान भएको उक्त अवसरमा जानकारी गराइयो ।
    समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु लगायत अष्ट ‘ज’ अभियानका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।