अवैध लागूऔषध सहित मानिस पक्राउ

काठमाडौं, २९ साउन
    तनहुँ : ब्यास नगरपालिका–२ कालिका मार्गस्थित रोसन रेष्टुरेन्ट एण्ड लजको कोठा भाडामा लिई बसेका गोरखा देउराली गाबिस–४ का २० वर्षीय गणेश अधिकारी, २३ वर्षीय जिबराज सेढाई र तनहूँ ब्यास नगरपालिका–११ बस्ने भक्तपुर नगरपालिका–२ का २० वर्षीय दिनेश साईलाई अवैध लागूऔषधसहित शुक्रबार प्रहरीले पक्राउ गरेको  छ ।
    उक्त होटलमा युवाहरुले आपराधिक कृयाकलाप गर्दै गरेको भन्ने गोप्य सुराकको आधारमा खटिई गएको प्रहरीले बिक्री बितरण गर्ने उद्देश्यले कोठामा राखेको अबैध लागूऔषध डाइजेपाम ४५ थान, फेनरागन ४५ थान,  नुफिन ४५ थान, नगद ३ हजार रुपैयाँ र मोबाइल सेट ३ थान बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो ।
    उनीहरुले उक्त लागूऔषध भारतको सुनौलीबाट खरिद गरेर ल्याई डाइजेपाम १, फेनरागन १ र नुफिन १ गरी ३ थानलाई कालो टेपले बाँधी १ सेट बनाई दमौली बजार तथा आसपासका क्षेत्रमा बिक्री बितरण गर्ने उद्देश्यले झोलामा लुकाई छिपाई राखेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
    सर्लाही : हरिवन नगरपालिका–११ स्थित चापनीखोला आउने भित्री बाटोमा चेकजाँच गर्ने क्रममा हरिवन नगरपालिका–१० ताईवान बस्ने मकवानपुर मनहरी–२ का ४७ वर्षीय जीवन भन्ने नरमान घिसिङ र मकवानपुर गढी बस्ने २६ वर्षीय रन्जित लामालाई सेतो प्लास्टिकको बोरामा बोकी ल्याएको करीव ३५ किलो अवैध लागूऔषध गाँजासहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइहरको छ ।