सवारी दुर्घटनामा मृत्यु तथा घाइते

काठमाडौँ, ३१ साउन
    काभ्रे : बिर्तादेउराली–९ कोशीपारी सडकमा काठमाडौंबाट कात्तिके देउरालीतर्फ जाँदै गरेको बा.३ ख १०६ नम्बरको बस सोमबार अनियन्त्रित भई सडकबाट करीव ५ सय मिटर तल खहरेखोलामा खसेर दुर्घटना हुँदा बसमा सवार २७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । दुर्घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कात्तिके देउराली, प्रहरी चौकी फलाटे तथा दोलालघाट र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी उपरीक्षक तथा प्रमुख जिल्ला अधिकारीसहितको टोली खटी गई उद्धार कार्य भइरहेको छ । घाइतेमध्ये १२ जनालाई धुलिखेल अस्पताल पठाइएको छ भने नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौं लगिएका २७ पुरुष र १ महिला गरी २८ जनामध्ये १८ जनाको ट्रमा सेन्टरमा र १० जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
    तनहुँ : मनपाङ–३ सेराटारस्थित पृथ्वी राजमार्गमा ना.४ ख ८१२७ नम्वरको बसले ग.११ प १८३० नम्वरको स्कुटीलाई सोमबार ठक्कर दिँदा भएको दुर्घटनामा स्कुटी चालक शुक्लागण्डकी नगरपालिका–१० बस्ने ४५ बर्षीय प्रकाश गुरुङको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा स्कुटरमा सवार सोही ठाउँ बस्ने ३३ बर्षीय गगनसिंह कुमाल घाइते भएकोले उपचारको लागि सेतीगंगा सामुदायिक अस्पताल बेलचौतारा लगिएको छ । दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    ललितपुर : ललितपुर उपमहानगरपालिका–९ बालकुमारीस्थित सडकमा ना.३ ख ६१३० नम्बरको एलपी ट्रक र बा.२९ प १५८२ नम्बरको मोटरसाइकल सोमबार एकआपसमा ठक्कर खाँदा भएको दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार काठमाडौं गोठाटार बस्ने ४८ वर्षीया जमुना दहालको बि एण्ड बि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनका पति मोटरसाइकल चालक ४८ वर्षीय गणेशप्रसाद दहालको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    अछाम : बिरपथ–५ चोइटेखालस्थित गैरीटाड–मंगलसेन सडक मर्मत गरी फर्कने क्रममा वेसिबी डोजर  करीव १ सय मिटर तल खसेर सोमबार दुर्घटना हुँदा चालक सिन्धुपाल्चोकका २१ वर्षीय सन्तोष तामाङको घटनास्थलमै मृत्यु भएको छ भने सह–चालक सल्यान थारमारे–२ बस्ने २२ वर्षीय अम्बर बस्नेत सामान्य घाइते भएका छन् ।
    बैतडी : सिद्धेश्वर–३ ब्रिन्दावनस्थित सडकमा ना.५ ख २८३२ नम्बरको बस सोमबार अनियन्त्रित भई सडकबाट करीव १ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेहरुलाई उद्दार गरी उपचारको लागि उपक्षेत्रीय अस्पताल डडेलधुरा पठाइएको छ ।
    तत्काल दुर्घटनास्थलमा स्थानीय प्रहरी खटि गई उद्धार एवं आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।