अबैध रुपमा भिओआइपी संचालन गर्नेहरु पक्राउ

काठमाडौं, ३१ साउन
    काठमाडौं उपत्यकाभित्र अवैध अन्तर्राष्ट्रिय कल वाइपास केन्द्र संचालन गर्ने काठमाडौं महानगरपालिका–३४ गणेशमार्ग डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका–९ का २८ वर्षीय केदार अछामी र काठमाडौं महानगरपालिका–३५ पेप्सीकोला बस्ने सिन्धुपाल्चोक चौतारा–९ का २६ वर्षीय सुमन श्रेष्ठलाई अवैध कल वाइपास गर्ने अत्याधुनिक उपकरण सहित साउन २८ गते प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोको प्रहरीले पक्राउ गरेको छ ।
    उनीहरुले काठमाडौं बानेश्वर, शंखमुल र पेप्सीकोलामा कोठा लिई कल बाइपास संचालन गर्ने उपकरणहरु जडान गरी बंगलादेशी नागरिकको सहयोगमा कल सेन्टर संचालन गरेको अवस्थामा सो कार्यमा प्रयोग भएका १६ पोर्टको जीओआइपी गेटवे ६ थान, ब्याट्री ३ थान, इन्भर्टर २ थान, टिपी लिङक राउटर ६ थान, ल्पाटप २ थान, एनटीसी तथा एनसेल सीम ३ सय १५ थान, विभिन्न व्यक्तिहरुको नाममा भरिएका एनटीसी  सीम आवेदन फाराम र नागरिकताका प्रतिलिपी तथा फोटोहरु प्रहरीले बरामद गरेको छ ।
    पक्राउ परेका दुबै जनालाई दूरसंचार ऐन, २०५३ बमोजिम अनुसन्धान कार्य भइरहेको र संलग्न अन्तर्राष्ट्रिय गिरोहको पहिचान तथा खोजी कार्य भइरहेको ब्यूरोले जनाएको छ ।