सवारी दुर्घटनामा मृत्यु

काठमाडौं, ३२ साउन
    सुनसरी : भोक्राहा–९ स्थित पूर्वपश्चिम राजमार्गमा बा.४ च १५२७ नम्बरको सेन्ट्रो कार गएराति अनियन्त्रित भई सडकको बाँया साइडको कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका झापा चारपाने–२ बस्ने ३२ वर्षीय अतिजराज ढुंगानाको इनरुवा अस्पताल सुनसरीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका कार चालक सहित २ जनालाई थप उपचारको लागि घोपा अस्पताल धरानमा लगिएको छ ।
    रुपन्देही : देबदह नगरपालिका–१० स्थित भित्री सडक खण्डमा लु.१५ प ८७३५ नम्बरको स्कुटरमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीया धना खत्री सोमबार स्कुटरबाट खसेर गम्भीर घाइते भएकोले मेडिकल कलेज भैरहवा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । स्कुटर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    रुपन्देही : सैनामैना नगरपालिका–१० बाँसगढीस्थित सडकमा लु.१२ प ७५९६ नम्बरको मोटरसाइकललाई गएराति नम्बर नखुलेको बसले ठक्कर दिंदा मोटरसाइकलमा सवार कपिलवस्तु बुद्धबाटिका नगरपालिका–१३ बस्ने २४ वर्षीय जयराम थारु गम्भीर घाइते भएकोले उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सामान्य घाइते भएका थिए । फरार सवारी साधन र चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
    इलाम : लक्ष्मिपुर–७ स्थित सडकमा ग.१ च ९८९७ नम्बरको पिकअप गाडी सोमबार अनियन्त्रित भई सडकबाट पल्टीएर दुर्घटना हुँदा पिकअपमा सवार सुर्योदय नगरपालिका–३ बस्ने सुमन राईको १ वर्षीया छोरी रुमिलुङ राईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटना अन्य ४ जना घाइते भएकोले उपचारको लागि विर्ता सिटी अस्पताल झापामा लगिएको छ ।
    नुवाकोट : रातोमाटे–७ मा बा.३ ख ९१३४ नम्बरको टिपरले सोमबार रातोमाटे–४ बस्ने बिनोद बि.क.को ६ वर्षीय छोरा बिराज बि.क.लाई ठक्कर दिंदा गम्भीर घाइते भएकोले ग्रिन सिटी अस्पताल धापासी काठमाडौँ लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।  टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।