खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ

काठमाडौँ, १ भदौ
    काठमाडौँ महानगरपालिका–३४ पुरानो बानेश्वर स्थित सेन्टर क्याफे अगाडी गत साउन ३१ गते बेलुका रोज राणा भन्ने सरोज थापा माथि खुकुरी प्रहार गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा भक्तपुर सिद्धपोखरी घर भई हाल काठमाडौँ महानगरपालिका–१६ नयाँबजार बस्ने २८ बर्षीय मोटे भन्ने विवेचन प्रजापति र नयाँबजार बस्ने धादिङ कटुञ्जे–६ का १८ बर्षीय कटुन्जे भन्ने सूर्य लामा रहेका छन् । घटनाका मुख्य योजनाकार काभ्रे भुङलुटार घर भएका जोधा भन्ने रत्न बहादुर लामा हाल फरार रहेका छन् ।
    महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार काठमाडौँ महानगरपालिका–१६ नयाँबजारबाट पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरमा पठाइएको छ ।
    विगतको बिभिन्न कारोवार र गुण्डागर्दीबाट हुने फाइदा लिने, खाने क्रममा थापाले धोका दिएको, छलछाम गरेको भनि पुरानो रिसिईवी लिई हाल फरार रही लुकिछिपी वसेका गुण्डाका नाईके’जोधा’ भन्ने रत्न बहादुर लामाले आक्रमण गर्ने योजना वनाई आफ्नो समूहका प्रजापतिलाई ३ महिना पहिला भारतको सिलगुडीमा बोलाई आक्रमणको योजना बनाई तत्काल पेश्की स्वरुप ५० हजार भारतीय रुपैयाँ दिएको खुल्न आएको छ । करिव तीन हप्ता पहिला भारतबाट निज जोधा भन्ने रत्न बहादुर लामा नेपाल आई प्रजापतिको घरमा गई थापालाई आक्रमण गरी अङ्गभङ्ग तुल्याउन थप ३० हजार दिएको र काम सम्पन्न भए पश्चात ३० लाख दिने र भविष्यमा समेत सहयोग गर्ने प्रलोभन समेत दिएको अनुसन्धानबाट खुल्न आएको छ ।