मृत अवस्थामा फेला
काठमाडौं, २ भदौ
सोलुखुम्बु : कसैलाई नसोधी बुधबार घरबाट हिँडेका वाकु–६ बस्ने ५१ वर्षीय तुलसी निरौला घर फर्की नआएपछि खोजी गर्ने क्रममा वाकु–५ स्थित सामुदायीक जंगलको भिरमा बिहिबार मृत अवस्थामा फेला परेका छन ।
सुर्खेत : वीरेन्द्र नगरपालिका–४ स्थित डेरा गरी ज्याला मजदुरी गर्ने दैलेख रावतकोट–२ हुमेगाउँका ५७ वर्षीय धमला भनि चिनिने गंगाराम खत्री उनकै डेराकोठामा सुतिरहेको अवस्थामा बिहिबार मृत फेला परेका छन् ।
धादिङ : किरानचोक गाबिस–४ बस्ने हर्कबहादुर तामाङ बिहिबार आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।
स्याङ्जा : तिनदोबाटे गाबिस–६ चिउरीस्थित भिरको खोचमा सडिगली सकेको अवस्थामा अपरिचित महिलाको शव बिहिबार फेला परेको छ । उक्त भिरमा साउन २८ गते फ्रान्सेली नागरिकको रातो लेदरको झोला भेटिएको भए पनि शवको आधिकारिक सनाखत भने हुन सकेको छैन ।
ताप्लेजुङ : साँघु–२ बस्ने ३६ वर्षीय मानवीर शेर्पा भन्ने भिमबहादुर शेर्पा थिङ्लावु–८ स्थित मैयाँखोलाको बगरमा बुधबार मृत अबस्थामा फेला परेका छन् । साउन ३० गते फाकुम्वातर्फ सरसामान किन्न गएका शेर्पा घर फर्की नआएपछि प्रहरी र स्थानियवासीको सहोयोगमा खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
बाँके : कम्दी–७ स्थित ईलाका बन कार्यालय कम्दीको खाली भवनमा हाल नाम, थर, वतन नखुलेकी करीव ५० वर्षीया महिलाको शव बुधबार फेला परेको छ ।
रसुवा : गत्लाङ–५ पार्वतीकुण्ड बस्ने ६५ वर्षीय निमा लामा सुतेकै कोठामा बुधबार मृत अबस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

